Skip to main content

देबहरिया गाउँको सड्वाबाबा तालमा बनाईएका पक्की पिलर हटाईदै

Submitted by editor on
तालको क्षेत्रफल मात्रै खुम्चिएको छैन की निसान मेटिनेगरी पक्की भौतिक संरचना निर्माण गर्न ५६ वटा पिल्लर नै गाडिएको थियो ।
ईबिगुल संवाददाता
तालको अतिक्रमित क्षेत्र खाली

धनगढी :  कैलालीको धनगढी उपमहानगरपालिका–७ देवरिया गाउँमा रहेको सड्वाबाबा तालको अतिक्रमित क्षेत्र खाली गराउने कार्य सुरु भएको छ । प्राकृतिक तालको प्रकृतिमा देख्न नसकिने गरि अतिक्रमण गरिएको क्षेत्र उपमहानगरले खाली गराउन लागेको हो । 

सरकारी तथा प्राकृतिक सम्पत्तिमा गिद्देदृष्टि लगाउनेको सिकार सड्वाबाबा ताल बन्न पुगेको थियो । उक्त तालको नामोनिसाना नै मेटिने गरी अतिक्रमण गरेर पक्की भौतिक संरचना निर्माण गरिएको थियो । ती सबै संरचना हटाउने काम सुरु भएको मेयर गोपाल हमालको सचिवालयले जनाएको छ । 

तालभित्रै पक्की संरचना निर्माण गरिएको थियो । तालमै पिल्लर गाडिएकोमा हटाउने काम भइरहेको छ । देवरिया गाउँमै दशकौंदेखि बसोबास गर्नेहरुका अनुसार सड्वाबाबा तालको क्षेत्रफल विगतमा ठूलो थियो । 

तर सो क्षेत्र अतिक्रमणको चपेटामा परेपछि उक्त तालको क्षेत्रफल मात्रै खुम्चिएको छैन की निसान नै मेटिनेगरी पक्की भौतिक संरचना निर्माण गर्न ५६ वटा पिल्लर नै गाडिएको थियो ।

ती सबै पिल्लर उपमहानगरले भत्काएर क्षेत्र खाली गराएको हो । सो ताल वरपरको जग्गामा समेत केही पक्की तथा कच्ची संरचना निर्माण गरिएकामा उपमहानगरले खाली गराउन लागेको छ । 

उक्त जग्गा अतिक्रमण गर्ने र आफू अनुकुल विक्रि गरेको पनि यसअघि फेला परेको थियो । धनगढीमा डुबानको समस्या बढ्नुको एक मुख्य कारण नाला, नदी तथा तालहरु अतिक्रमण हुनु हो ।

खोला नालासँगै ताल तथा अतिक्रमण भएको सार्वजनिक जग्गा फिर्ता गर्ने नीति अपनाएको उपमहानगरले लिएको छ । धनगढीको देवरिया गाउँमा रहेको सड्वाबाबा ताल मात्रै नभएर अन्य अधिकांश तालहरु केही व्यक्तिको कब्जामा छन् । ती तालको अतिक्रमण हटाउने गरि उपमहानगरले काम गर्दै आएको छ ।