Skip to main content

ब्राउनसुगर नेपाल पठाउने दुईजना कुख्यात ‘ड्रग्स किंग’ पक्राउ

Submitted by editor on
उनीहरु सीमा क्षेत्रका कारोबारीहरुलाई स्वीफ्ट डिजायर गाडीको प्रयोगगर्दै ब्राउनसुगर सप्लाई धन्दामा थिए ।
शिवराज भट्ट
आधा किलो ब्राउन सुगर सहित पक्राउ

धनगढी  : केही दिन अघि भारतीय प्रहरीले पक्राउ गरेका तीन जना ‘ड्रग्स’ कारोबारी अंकित माल्या, विक्की नेपाली भनिने विक्की गुप्ता र सन्नी गुप्तालाई ब्राउन सुगर उपलब्ध गराउने दुई जना ‘ड्रग्स किंग’लाई पनि भारतीय प्रहरीले आधा किलो ब्राउन सुगर सहित पक्राउ गरेको छ । 

भारतको लखिमपुर खीरी प्रहरीले टाटरगञ्जका बलबीर भनिने बिरेन्द्र करनवाल र पिलिभितका गग्गी भनिने हरमेश सिह नामक कुख्यात अन्तराष्ट्रिय ड्रग्स कारोबारी पक्राउ गरेको हो । स्वीफ्ट डिजायर गाडीमा नेपालको सीमानासम्म ब्राउन सुगर पुगाउने उनीहरुको साथबाट भारतीय प्रहरीले ४०१ ग्राम ब्राउन सुगर बरामद गरेको जनाएको छ ।

उनीहरु नेपाल र भारतको सीमा क्षेत्रका कारोबारीलाई ब्राउन सुगर उपलब्ध गराउने गरेको भारतीय प्रहरीले जनाएको छ । अंकित माल्या र विक्की गुप्तालाई पक्राउ गरिसकेपछि भारतीय प्रहरीले गरेको अनुसन्धानमा यी दुबै जनाको नाम खुलेको हो । 

भारतको कवच सेल टोलीको सहायताले उनीहरुलाई पक्राउ गर्न सफल भएको सम्पूर्णानगर थानाका प्रमुख निराला तिवारीले भारतीय सञ्चार माध्यमलाई बनाएका छन । दुबै जनालाई सम्पूर्णानगरको मिल चौराहा भन्ने स्थानबाट पक्राउ गरिएको हो । 

भारतको कबच सेलले यस्ता तस्करहरुको फोन टेप गर्नेगर्छ । ‘उनीहरुको साथमा रहेको फोन टेप हुन्छ । पक्राउ परेकाहरुले कारोबारको ‘डील’ गर्छन । प्रहरीले उनीहरुको फोन टेप गरिराख्छ । अनी ‘लोकेशन’मा बोलाईन्छ । के मा आउने ? कस्तो रंगको र कति नम्बरको गाडीमा आउने सबै कुरा रेकर्ड हुन्छ, अनी प्रहरीले समात्छ’ थाना प्रभारी तिवारीले भने । 

केही दिनअघि भारतको पलियामा भएको नेपाल भारत सीमा अधिकारीहरुको बैठकमा नेपाली प्रहरीले भारतीय प्रहरीलाई करिब तीन दर्जन ड्रग्स कारोबारीको नाम, नम्बर र तस्बिर उपलब्ध गराएको थियो । त्यसपछि भारतीय प्रहरी पनि एक्सनमा उत्रिएको हो । 

भारतमा लोकसभाको चुनाव चलिरहेकाले पनि भातरीय प्रहरीले संदिग्ध सूचीमा रहेकाहरुलाई निगरानीमा राखिरहेको छ । यी दुई जना पनि नेपाल प्रहरीको मोस्ट वान्टडको सूचीमा थिए । 

गतत मंगलबार मंगलबार भारतको पलिया खिरि थाना अन्तर्गतको प्रथम बजार कस्बाका ‘ड्रग्स किंग’ भनिने अंकित माल्या (२५ वर्ष) र सिगहिया कस्बामा डेरा गरि बस्ने विक्की नेपाली भनिने बिक्की गुप्ता (३२ वर्ष) पनि ३९० ग्राम ब्राउन सुगर सहित पक्राउ परेका थिए । त्यसअघि चैत ८ गते भारतको गौरीफन्टा प्रहरीले बनगवा बजारबाट सन्नी गुप्ता, सचिन गुप्तालाई १० ग्राम ब्राउन सुगर सहित पक्राउ गरेको थियो ।

सन्नी, अंकित र विक्की गरी तीनै जना नेपाल प्रहरीको ‘मोस्ट वान्टेड’ सूचीमा रहेका लागुपदार्थ कारोबारी हुन ।