Skip to main content

डोटीका १५० सामुदायीक बनमा डढेलो, बन्यजन्तु बस्तीतिर, लाखौं चराका गुडहरु नष्ट

Submitted by editor on
शिवराज भट्ट
डढेलो

डोटी  ः डोटीका १५० सामुदायीक बनमा डढेलो लागेको छ । यसपाली हिउदमा हिमपात नभएको र लामो समयसम्म पानी नपरेकाले बन डढेलो हैरानीको विषय बनेको छ ।

डोटीमा ३९७ वटा सामुदायीक बन रहेकोमा १५० भन्दा बढीमा डढेलो लागेको डिभिजन बन कार्यालय डोटीले जनाएको छ । डिभिजन बन अधिकृत गोकुल रिजालले १५० सामुदायीक बनहरुको झण्डै ३० हजार हेक्टरमा डढेलो सल्किएको बताए । 

डोटीको शिखर नगरपालिकाको धुँवा पातली सामुदायीक बनमा खानेपानीको पाईप जोडने बेला डढेलोको लप्कामा परेर स्थानीय ४१ वर्षका चन्द्र भण्डारीको ज्यान समेत गएको थियो । डोटीका जोरायल गाउपालिका, शिखर नगरपालिका र दिपायल सिलगढी नगरपालिकाभीत्रका सामुदायीक बनमा बढी डढेलो लागेको छ ।

‘डढेलोले चराचुरंगीका गुडहरु नष्ट भएका छन । यो समय भनेको चराहरुको प्रजननको समय हो, तर निभाउनै नसक्ने गरी आगो दन्किएको छ’ डिभिजन बन अधिकृत रिजालले भने । ‘आकाशको पानी नपर्दासम्म डढेलो निभाउन सकिदैन ।’

उनले सल्लाको बनमा बढी डढेलो लागेको र बन्यजन्तुहरु पनि गाउँतिर विस्थापित हुन थालेको बताए । ‘सल्लाको बनमा पिरोलमा आगो छिटो सल्किन्छ, सल्लाको बनमा आगो लागेपनि त्यसका सिम्ता (फल) जलेर टाढा टाढासम्म गुडने भएकाले पनि बनभरी आगो फैलिन्छ’ उनले भने ।

जोरायल गाउपालिकाका बाखा्रका खोरहरु जलेर नस्ट भएका छन भने बन्यजन्तुहरु पनि जलेर घाईते अवस्थामा बस्तीतिर आउन थालेका छन । दिपायल सिलगढी नरपालिकाको वडा नम्बर २  मा खट्टुा जलेको अवस्थामा नीलगाईको उद्धार गरी खप्तड राष्ट्रिय निकुञ्जमा छोडिएको डिभिजन प्रमुख रिजालले बताए ।

उनले बनमा घास राम्रो उम्रिने भन्दै आगो लगाउने गरिएको बताए । ‘बनमा जुका मर्छन भनेर पनि आगो लगाउने गरेको पाईयो’ उनले भने । ‘यसका लागि समुदायको सहयोग आवश्यक रहेको छ ।’ उनले केही स्थानीय पालिकाहरुसँग रहेका सिमित दमकलले भीर भएको बनहरुमा त्यसको प्रयोग असम्भव रहेको बताए ।

उनले स्थानीय समुदायमा आगो नलगान र आगो लगाउनेको पहिचान भएमा डिजिभनमा खबर गर्न सूचना जारी गरिएको बताए ।