धनगढी ः धनगढी उपमहानगरपालिका वडा नम्बर २ मा रहेको शारदा मावि बैयाबेहडी, बैशाख महिनाको उत्कृष्ठ विद्यालय घोषणा भएको छ । शुक्रबार धनगढी उपमहानगरपालिकाले ६८ सामुदायीक विद्यालय मध्ये ३० वटाले गरेको प्रस्तुतीकरणमा शारदा माविलाई उत्कृष्ठ घोषणा गरेको हो ।
योसँगै शारदा माविले नगद १५ हजार रकम र सम्मान पत्र पाएको छ । धनगढी उपमहानगरपालिकाका मेयर गोपाल हमालले शारदा माविका प्रधानाध्यापक तेज बहादुर भण्डारीलाई उक्त सम्मानपत्र र नगद हस्तान्तरण गरे ।
धनगढी उपमहानगरपालिकाले सामुदायीक विद्यालयको शिक्षा सुधारका लागि हरेक महिना विद्यालयहरुको प्रस्तुतिकरण गराउने र राम्रो काम गरेको विद्यालयलाई उत्कृष्ठ घोषणा गर्ने नीति अवलम्बन गरेको छ ।
उप–महानगरपालिकाको सभाहलमा सम्पन्न मासिक प्रधानाध्यापक बैठक र सामुदायिक विद्यालयद्वारा सम्पादित शैक्षिक गतिविधिको प्रस्तुतीकरण गरिएको थियो । ३० वटा विद्यालयको प्रस्तुतीकरणका आधारमा शारदा माध्यमिक विद्यालय, बैयाबेहडी उत्कृष्ठ भएको मेयर हमालले बताए ।
धनगढी उपमहानगरपालिकाले शैक्षिक सत्र २०८१ मा सामुदायिक विद्यालयको शैक्षिक व्यवस्थापनमा सुधार गर्दै गुणस्तरयुक्त शैक्षिक विकास गर्ने उद्देश्यले २०८० चैत्र ८ गते सबै सामुदायिक विद्यालयहरुसंग कार्यसम्पादन सम्झौंता गरेको थियो ।
सोही सम्झौंता बमोजिम विभिन्न ७२ वटा सूचकहरुको कार्यान्वयनको सन्दर्भमा भए गरेका मासिक कार्यहरुको सम्बन्धमा सम्बन्धित विद्यालयका प्रधानाध्यापकद्वारा गरिएको प्रस्तुतीकरणका आधारमा उत्कृष्ठ विद्यालय घोषणा गरिएको हो ।
उत्कृष्ठ भएपछि प्रधानाध्यापक तेज बहादुर सिंहले उत्कृष्ठ विद्यालय घोषणा कार्यक्रमले सामुदायिक विद्यालयलाई शैक्षिक सुधारका लागि सकारात्मक प्रतिस्पर्धा गर्न, विद्यालयका असल अभ्यासहरु आदान प्रदान गर्न र विद्यालयलाई थप हौसला प्रदान गर्न मद्दत गर्ने बताए ।
कार्यक्रममा नगर प्रमुख गोपाल हमालले विद्यालयको शैक्षिक सुधार शिक्षकबाटै सम्भव भएको र त्यो धनगढीका शिक्षकले प्रमाणित गरेको देखाएको बताए ।