Skip to main content

मदन आश्रीतका समकालिन जेष्ठनेताहरु सम्मानित

Submitted by editor on
ईबिगुल संवाददाता
मदन आश्रीतका समकालिन जेष्ठनेताहरु सम्मानित

धनगढी : कैलालीमा पहिलो पटक एमालेका ज्येष्ठ पार्टी सदस्यलाई सम्मान गरिएको छ । ३१ औँ मदन आश्रित स्मृति दिवसको अवसरमा एमाले कैलाली जिल्ला कमिटीले २८५ जना पुराना एमालेका नेता कार्यकर्ताहरूलाई सम्मान गरेको हो ।

उनीहरु मध्ये अधिकांश मदन भण्डारी र जीवराज आश्रितसँगै राजनीतिमा होमिएका नेता कार्यकर्ताहरू रहेका थिए । एमाले कैलालीका जिल्ला अध्यक्ष यज्ञ ढुङ्गानाले मदन भण्डारी र जीवराज आश्रितका समकालीनलाई सम्मान गरिएको बताउँदै यस्ता काम आगामी दिनमा पनि गरिने बताएका थिए ।

उनले सबैलाई एक भएर पार्टी बलियो बनाउन पनि आग्रह गरेका थिए । कार्यक्रमका प्रमुख अतिथि एमाले केन्द्रीय सचिव तथा कर्णाली इन्चार्ज लेखराज भट्टले मदन भण्डारी र जीवराज आश्रितका विचार र नीतिलाई कार्यान्वयन गर्न आवश्यक रहेको बताए ।

उनले पार्टी बलियो बनाउनु आजको पहिलो दाइत्व रहेको बताएका थिए । पोलिटब्युरो सदस्य तथा कैलाली इन्चार्ज गणेश ठगुन्नाले कैलालीमा पहिलो पटक नयाँ र नौलो शैलीले मदन आश्रित स्मृति दिवस मनाइएको बताए ।

एमालेको नेता कार्यकर्ताहरूकै कारण पार्टी बलियो र लोकप्रिय रहेको बताएका थिए । आज सम्मानित हुने मदन आश्रितका समकालीनहरूले पार्टीले आफूहरू सम्झिएको भन्दै खुसी व्यक्त गरेका थिए ।

नेकपा एकीकृत समाजवादीमा सक्रिय रहेका तत्कालीन मदन भण्डारीका मित्र कुमार निरौलाले कार्यक्रमबाटै आफू एमालेमा सक्रिय हुने बताएका थिए ।

उनले २०३० साल देखी १० बर्ष मदन भण्डारीसँगका पलहरू स्मरण गरेका थिए । विचारले नेकपा एस निकै सानो भएको हुँदा आफूले त्यो पार्टी छोडेको बताइन् । कार्यक्रममा धारणा राख्दै केन्द्रीय सल्लाहकार परिषद् सदस्य हरिशंकर योगीले २०३६ सालमाको आन्दोलन स्मरण गरेका थिए ।

उनले मनमोहन अधिकारीले भिमदत्त पन्तको श्रीमती पार्वती पन्तलाई भेट्न गएको, आफ्नो घरमा बसेको र भेट्न नपाएको विषय सुनाएका थिए । केन्द्रीय सल्लाहकार सदस्य महेश्वर पाठकले कैलालीमा एमालेको पुरानो गौरवमय इतिहास सुनाएका थिए । उनले मदन भण्डारी अहिले सम्म रहेको भए यस्तो गुटबन्दी नहुने बताएका थिए ।

केन्द्रीय अनुशासन आयोगका सदस्य दीपक देवकोटाले पनि एमाले बलियो बनाउन सबै नेता कार्यकर्ताहरू सक्रिय हुन हुन आवश्यक रहेको बताएका थिए । उनले पहिलो पटक कैलाली जिल्ला कमिटीले गरेको कामले एमालेका पुराना नेता कार्यकर्ताहरू पनि उत्साहित भएको बताए ।