Skip to main content

सफलताको कथा : मलेसिया र दुबई छोडेर फर्केका भरतको तरकारी मोह

Submitted by editor on
गीता कुँवर
तरकारी खेति

अछाम : अछामको रामारोशन गाउँपालिका ४ बाटुलासैन भेरगाउँका भरत बिष्ट दुई पटक विदेश गए । उनले ३ महिना दुवईमा घर बनाउने काम गरे । दुवईमा राम्रो कमाई नभएपछि उनी ३ महिनामै नेपाल फर्किए । 

नेपाल फर्किए लगत्तै उनी फेरि मलेसिया गए । मलेसियामा भरतले एघार महिना फर्निचर बनाउने काम गरे । त्यता पनि सोचे अनुसारको कमाई नभएपछि उनी फेरि घर फर्किए । उनले अब कहिल्यै विदेश नजाने निर्णय गरेका छन ।

गाउँ फर्किएर उनले बाँझो रहेको जमिनमा तरकारी खेति गर्ने सुर गरे । बिष्टले २०६९ सालमा तरकारी खेती सुरु गरका हुन् । सुरुको वर्ष उनले एक रोपनीमा खुर्सानी लगाए । सुकेका खुर्सानी बेचेर १८ हजार कमाए । खुर्सानीबाट त्यति कमाई भएपछि उनले अन्य तरकारी खेती सुरु गर्न थाले । 

काठमाण्डौ जादै गर्दा बाटोमा धादिङ गरेको तरकारी खेती हेर्दा उत्साहित हुन्थे उनी । उनले भने ‘विदेश जाने तयारीका लागी काठमाण्डौ जादै गर्दा धादिङमा लगाएको तरकारी खेतीले मन लोभ्याउथ्यो । आफ्नै गाउँमा यस्तो गर्न पाए हुन्थ्यो जस्तो लाथ्यो । गरेपछि त हुने रैछ । मेहनत गर्नुपर्छ । विदेशका पसिना बगाउनु भन्दा आफ्नै गाउँ बगेको पसिनाको कमाईको अझै महत्व हुने रैछ ।’

विदेश हुँदा कमाई भएको पैसाले उनले कैलालीको लम्कीमा घडेरी किनेका थिए । यहि तरकारी खेतीबाट उनले लम्कीमा एकतलाको पक्की घर बनाएका छन् । भरतका एक छोरा र २ छोरी तराईमै पढ्न छन् । भरत अहिले वार्षिक दश लाखको कारोवार गर्छन् । 

उनले गाउँमा एकजनालाई रोजगारी समेत दिएका छन् । तरकारी खेतीसंगसगै उनले भैसी, बंगुर, कुखुरा पालन समेत गरेका छन् । उनलाई बजारको समस्या छैन । उपभोक्ता र बजारको माग अनुसार अझै उत्पादन पुगाउन नसकेको उनी बताउछन् । उनले भने,‘बजारको कुनै समस्या छैन मलाई । बारीमै बिक्री हुन्छ नभए गाउँपालिकाकै खालबजार र मुजाबगरसम्म पुग्ने गर्छु । अहिले काँक्राको माग धेरै छ । माग अनुसारको पुगाउनै गाह्रो भएको छ ।’

भरतले तरकारी लगायत पशुमा २५ लाखको लगानी गरेका छन् । कृषि र पशुका लागी आउने अनुदानमा निर्भर हुदैनन् उनी । अनुदानले परनिर्भर बनाउछ भन्छन् भरत । ‘आफुले गरेको लगानी जति माया अरुले दिएको पैसामा हुदैन । अनुदानका लागी पहल गर्छु मरिहत्ते गर्दिन’ भरत भन्छन ।

भरतले घट्ट समेत सञ्चालन गरेका छन् । खडेरीका बेला पनि कम पानीमा चल्ने सुधारिएको घट्ट सञ्चालन गरेका छन् । त्यहि घट्टमा पिसेको मकै दाना कुखुरालाई खुवाउने गरेको उनले बताए ।