Skip to main content

सुदूरपश्चिममा ब्याज अनुदानको भुक्तानी रोकिएपछि किसान मर्कामा

Submitted by editor on
ईबिगुल संवाददाता
सुदूरपश्चिममा ब्याज अनदानको भुक्तानी रोकिएपछि किसान मर्कामा

धनगढी : सुदूरपश्चिम सरकारले कृषकहरुले पाउँदै आएको ब्याज अनुदानको भुक्तानी रोकेको छ । प्रदेश सरकारको आर्थिक मामिला मन्त्री नभएको भन्दै कृषकले कृषि ऋणको ब्याज र कृषि बिमाको प्रिमियममा पाउँदै आएको अनुदानको भुक्तानी रोकेको हो । 

प्रदेश सरकारले कृषि तथा पशुपन्छी व्यवसाय प्रवद्र्धन नियमावली २०७९ अनुसार कृषि तथा पशुपन्छी क्षेत्रको व्यवसायीकरण एवं आधुनिकीकरणको लागि कृषि व्यवसायमा आवद्ध कृषक, कृषि सहकारी, कृषि समूहलाई ब्याजमा ८ प्रतिशत अनुदान दिदै आएको छ ।
तर गत पौष महिनादेखि हालसम्मको भुक्तानी रोकिएको छ । कृषि ज्ञान केन्द्र र भेटेनरी अस्पताल तथा पशु सेवा विज्ञ केन्द्रमार्फत २०७८ सालदेखि कृषि ऋणको ब्याजमा अनुदान पाउँदै आएका तथा कार्यक्रममा नयाँ जोडिएका कृषकहरुको भुक्तानी रोकिएपछि उनीहरु मर्कामा परेका छन ।

दलहरुबीचको किचलोका कारण मुख्यमन्त्री दीर्घबहादुर सोडारीले हालसम्म मन्त्रिपरिषद विस्तार गर्न सकेका छैनन् । मुख्यमन्त्री सोडारीले भुक्तानीको फाइल सदर नगरेपछि किसानले पाउनुपर्ने भुक्तानी रोकिएको मन्त्रालय स्रोतले जनाएको छ । 

सुदूरपश्चिममा नौवटा कृषि ज्ञान केन्द्र र नौवटा भेटनरी अस्पताल तथा पशु सेवा विज्ञ केन्द्र छन ्। जसमध्ये कैलाली जिल्लास्थित कृषि ज्ञान केन्द्र र भेटेनरी अस्पताल तथा पशु सेवा विज्ञ केन्द्रमार्फत हुने भुक्तानी रोकिएको हो । कृषि ज्ञान केन्द्र कैलालीबाट केही साता मात्रै सरुवा भएका कृषि ज्ञान केन्द्रका प्रमुख खगेन्द्रप्रसाद शर्माले बिमा प्रिमियमको १० लाख रकम अपुग भएपछि भुक्तानी माग गरेको बताए ।

तर किसानको भुक्तानी मागको फाइल सदर हुन सकेको छैन्।  भेटेनरी अस्पताल तथा पशु सेवा विज्ञ केन्द्र कैलालीबाट सबैभन्दा बढी भुक्तानी माग आएकोमा हालसम्म भुक्तानी भएको छैन् । भेटेनरी अस्पताल तथा पशु सेवा विज्ञ केन्द्रको प्रमुख डाक्टर हेमराज अवस्थीले चालू आर्थिक वर्षमा ब्याज अनुदानका लागि एक करोड रुपैयाँ विनियोजन गरिएकोमा रकम अपुग हुँदा थप १ करोड ८० लाख रकम माग गरिएको बताए ।

भेटेनरी अस्पताल तथा पशु सेवा विज्ञ केन्द्रमार्फत मात्रै कैलालीमा कृषि ऋणको ब्याज अनुदानको कार्यक्रममा १२७ जना कृषक आवद्ध छन् । ऋण लिइ कृषि व्यवसाय सञ्चालन गरिरहेका कृषकलाई राज्यले नै हत्तोसाहित गर्ने काम गरिरहेको कृषकहरुको गुनासो छ ।

सरकारको गैरजिम्मेवारीपनका कारण किसानहरु निराश भएको कैलारी गाउँपालिका–६ स्थित सोना एण्ड सोना कृषि तथा पशुपन्छी फर्मका सञ्चालक रामसमझ रानाले बताए । 

त्यस्तै गोदावरी नगरपालिका–७ लालपुरस्थित मष्टा कृषि फर्मकी सञ्चालक पुर्णिमा पुनमगरले भनिन्, ‘देशको आर्थिक अवस्था खस्किएको बेला कृषिमै केही गर्न खोज्नेलाई सरकारले थप प्रोत्साहन गर्नु त कहाँ हो कहाँ झन मनोवल गिराउने काम गरेको छ ।’
तर मुख्यमन्त्री सोडारीले भने किसानको समस्याको समाधान खोजिने बताएका छन ।