Skip to main content

मन्त्री भण्डारीको ब्यंग्य ‘अहिलेको गतिविधि नेपालकै स्वास्थ्यका लागि हानीकारक छ’

Submitted by editor on
मन्त्री भण्डारीले नेपालकै कारण सुदूरपश्चिम सरकार विस्तारमा ढिलाइ भएको बताए । त्यो प्रवृत्ति लामो समयसम्म नरहने र केही दिनमा सुदूरपश्चिम सरकारले पूर्णता पाउने भण्डारीले बताए
ईबिगुल संवाददाता
मन्त्री भण्डारीले नेपालकै कारण सुदूरपश्चिम सरकार विस्तारमा ढिलाइ भएको बताए । त्यो प्रवृत्ति लामो समयसम्म नरहने र केही दिनमा सुदूरपश्चिम सरकारले पूर्णता पाउने भण्डारीले बताए


धनगढी : उद्योग वाणिज्य तथा आपूर्ति मन्त्री दामोदर भण्डारीले नेकपा एकीकृत समाजवादीका अध्यक्ष माधव कुमार नेपालले दोहोरो भूमिका देखाइरहेको आरोप लगाएका छन् । प्रेस चौतारी कैलालीले बिहीबार धनगढीमा आयोजना गरेको पत्रकार सम्मेलनमा बोल्दै मन्त्री भण्डारीले सत्तामा रहेर पनि कहिले काँग्रेससँग त कहिले कसैसँग छलफल गरिरहेको भन्दै दोहोरो भूमिका स्वयम् नेपाललाई नै फाइदा नहुने तर्क गरे ।

‘सत्तामा बसिरहने तर प्रतिपक्षसँग छलफल गर्ने दोहोरो भूमिकाले स्वयम उहाँलाई नै क्षति पुराइरहेको छ । उहाँको पार्टी, उहाँको विचार र उहाँका अस्थिरताले यो खालका संकटहरू धेरै लामो रहँदैन । त्यसले चाँडै निकास पाउँछ,’ उनले भने । ‘सत्तामा पनि रहिरहने प्रतिपक्षसँगको पनि सिरानी थापिराख्ने कुरो त्यो उहाँकै स्वास्थ्यको लागि हानिकारक छ ।’

मन्त्री भण्डारीले नेपालकै कारण सुदूरपश्चिम सरकार विस्तारमा ढिलाइ भएको बताए । मन्त्री भण्डारीले यस्तो अवस्था अब धेरै समय नरहने बताए । ‘त्यो प्रवृत्ति लामो समयसम्म रहँदैन । छिटै त्यसको निरूपण हुन्छ त्यहि कारणले यहाँ सुदूरपश्चिम सरकारले पाउने पूर्णता त्यस्तै प्रवृत्तिले प्रश्नहरू जन्माइरहेका छन्’ उनले भने । सुदूरपश्चिम प्रदेशमा नेकपा एकीकृत समाजवादी संसदीय दलका नेता दीर्घ सोडारी मुख्यमन्त्री छन् । तर,उनको सरकारमा एमाले अझै सहभागी भएको छैन ।

कम्युनिस्ट भएर पनि अग्रगमन पक्षधरताहरूको राजनीतिक शक्तिहरूसँग नमिलेको भन्दै उनले नेपालको आलोचना गरेका थिए । ‘संसदमा रहेका माननीयहरूको लिगेसिका हिसाबले पनि कम्युनिस्ट पार्टी भनिराख्नुहुन्छ । कम्युनिस्ट पार्टीको लामो समयसम्मको यात्रा पनि उहाँले गर्नु भएको छ । तर,अग्रगमन पक्षधरताहरुको राजनीतिक शक्तिहरूको सहकार्यमा उहाँ किन विचलित हुँदै हुनुहुन्छ,’ उनले भने । ‘उहाँ सत्तामा रहिरहने प्रतिपक्षसँग साइनो सम्बन्ध देखाइरहने कुरा उचित होइन । उहाँको ती प्रवृत्तिगत कुराले यहाँको सरकारले पूर्णता पाउने कुरामा समस्या पैदा भइरहेको हो।’

उनले २÷४ दिनमै सुदूरपश्चिम  सरकारले पूर्णता पाउने दाबी गरे । मन्त्री भण्डारीले बजेटले आसा र सम्भावना देखाएको जिकिर गरे । ‘बजेट कार्यान्वयन नहुने समस्या थियो अहिले बजेट कार्यान्वयन गर्ने पहिलो प्राथमिकता रहेको छ’ उनले भने । ‘यसले आसा र सम्भावना देखाएको छ ।’