Skip to main content

भन्सारमा मात्रै होईन, आन्तरिक राजश्वमा पनि गुप्ताको बदमासी

Submitted by editor on
हरिओम हार्डबेयरका सञ्चालक भारतीय नागरिक आशिष गुप्ताले चालुआर्थिक वर्षमा मात्रै ३२ लाख बराबरको राजश्व छलि गरेका हुन ।
ईबिगुल संवाददाता
हरिओम हार्डबेयर

धनगढी : राजश्व छलि गरेको भन्दै पटक पटक चर्चामा आउने धनगढीको हरिओम हार्डबेयरका सञ्चालकले यसपाली ३२ लाख राजश्व छलि गरेको पाईएको छ । भारतीय नागरिक आशिष गुप्ताले चालुआर्थिक वर्षमा मात्रै ३२ लाख बराबरको राजश्व छलि गरेको पाईएको हो । 

आन्तरिक राजश्व कार्यालय धनगढीले गरेको अनुसन्धानका क्रममा गुप्ताले ३२ लाख बराबरको कर छली गरेको पाइएको हो । राजश्व कार्यालयले गुप्ताले दुलारीदेवी भन्ने महिलाको नाममा फर्म दर्ता गरि सञ्चालन गरेको आरडेन इन्टरप्राइजेजले मूल्य अभिबृद्धि कर छली गरेको पाइएपछि ३२ लाख रुपैयाँ प्रारम्भिक कर निर्धारण गरेको जनाएको छ । 

१८ जेठमा गुप्तालाई पत्र लेख्दै राजश्व कार्यालयले निर्धारण गरिएको प्रारम्भिक कर बुझाउन निर्देशन दिएको छ । गुप्ताले बुधबार मात्र उक्त पत्र बुझेर लगेको आन्तरिक राजश्व कार्यालय स्रोतले जनाएको छ । अब गुप्ताले कर कार्यालयले निर्धारण गरेको प्रारम्भिक करमाथि चित्त नबुझेमा १५ दिनभित्र प्रमाणसहित निवेदन दिनुपर्नेछ । 

गुप्ताले प्रमाण पेश गर्न नसकेको अवस्थामा भने राजश्व कार्यालयले निर्धारण गरेको प्रारम्भिक कर बराबरको रकमा बुझाउनुपर्नेछ । कैलाली प्रहरीले गत १७ बैशाखमा धनगढीस्थित गुप्ताको गोदाममा छापा हान्दै ट्रकसहित ४० लाख बराबरको भन्सार छलीको सामान बरामद गर्दै उनलाई पक्राउ गरेको थियो । 

सोही दिन आन्तरिक राजश्व कार्यालयले समेत उनको गोदाममा छापा हानेको थियो । छापा हानेर बिल, बिजक नियन्त्रणमा लिएर अनुसन्धान गरिएकोमा आरडेन इन्टरप्राइजेजले ४४ लाख ३८ हजार बराबरको मौज्दात किताब भन्दा बढि स्टक राखेको र ३७ लाख ८८ हजार न्यून मौज्दात स्टक राखेको पाइएको राजश्व कार्यालयले जनाएको छ ।

गुप्ता भारतीय नागरिक भएपनि भारतीय दुतावासमार्फत व्यवसाय दर्ता गरि धनगढीमा हार्डवयरको व्यापार गर्दै आएका छन् । पैँसा र पावरको बलमा उनले लामो समयदेखि धनगढीमा अवैध कारोबार गर्दै एकछत्र राज गरिरहेको ब्यवसायीहरुको आरोप छ ।

लामो समयदेखि गुप्ताले लाखौँको कर छली, भारतबाट चोरी तस्करी गर्दै आएको आरोप लाग्ने गरेको छ । यसअघि पनि राजश्व अनुसन्धान विभागले उनको पसलमा पटक पटक छापा हान्दै राजश्व छलि गरेको भेटाएको थियो ।