Skip to main content

एमाले अनिर्णित बन्दा सुदूरपश्चिम सरकार विस्तार अन्यौलमा

Submitted by editor on
मुख्यमन्त्री नियुक्त भएको ५२ दिनसम्म पनि सोडारीले सरकारलाई पूर्णता दिन सकेका छैनन् । नेकपा एमालेले मुख्यमन्त्री सोडारीलाई विश्वासको मत दिएपनि उ सरकारमा सहभागि नभएपछि सरकार विस्तारमा ढिलाई भएको हो ।
ईबिगुल संवाददाता
मुख्यमन्त्री दीर्घ सोडारी

धनगढी : सत्ता गठबन्धनको मुख्य घटकका रुपमा रहेको नेकपा एमाले अनिर्णत बन्दा सुदूरपश्चिम प्रदेश सरकार विस्तारमा ढिलाई भएको छ । मुख्यमन्त्री दीर्घ सोडारी बैशाख ६गते मुख्यमन्त्रीमा नियुक्त भएका थिए । 

मुख्यमन्त्री नियुक्त भएको ५२ दिनसम्म पनि उनले सरकारलाई पूर्णता दिन सकेका छैनन् । नेकपा एमालेले मुख्यमन्त्रीलाई विश्वासको मत दिएपनि उ सरकारमा सहभागि नभएपछि मन्त्रालय बाँडफाँडमा पनि समस्या देखिएको छ । 

शुक्रबार मात्रै मुख्यमन्त्री सोडारीले सत्ता गठबन्धनको बैठक राखेका थिए । उक्त बैठकमा नेकपा माओवादी केन्द्र सरकारमा जानका लागि तयार भएपनि नेकपा एमाले भने तयार नभएपछि सरकार विस्तार हुन नसकेको हो । ‘माओवादी सरकारमा जान तयार छ तर मन्त्री को बन्ने कुराको टुंगो लागेको छैन’ बैठकमा सहभागि माओवादीका एक नेताले भने ।

नेकपा एमाले संसदीय दलका नेता राजेन्द्र सिह रावलले भने सरकारमा जाने नजाने टुंगो केन्द्रबाटै लाग्ने बताए । ‘म आईतबार काठमाण्डौं जादैछु । पार्टी नेतृत्वसँग छलफल हुन्छ, त्यसपछि सरकारमा जाने नजाने कुराको टुंगो लाग्छ’ रावलले भने । 

वैशाख ६ गते मुख्यमन्त्रीमा नियुक्त भएको सोडारीले नागरिक उन्मुक्ति पार्टीका कैलाश चौधरीलाई भौतिक पूर्वाधार विकास मन्त्री र केही दिन पछि टीका थापालाई भूमि व्यवस्था कृषि तथा सहरकारी मन्त्री बनाएका छन । त्यसपछि मुख्यमन्त्री सोडारीले सरकार विस्तार गर्न सकेका छैनन ।

सोडारी, एमाले, माओवादी, नेकपा एकीकृत समाजवादी, नाउपा रन्जिता पक्ष र स्वतन्त्र सांसदको समर्थनमा मुख्यमन्त्री नियुक्त भएका थिए । 

मुख्यमन्त्री सोडारीले माओवादी र स्वतन्त्र प्रदेश सभा सदस्यलाई सरकारमा ल्याउने तयारी गरको बताईएको छ । यद्यपी स्वतन्त्र सांसद तारा जोशीले भने अहिले नै आफूले मन्त्री भइहाल्ने विषयमा कुनै निर्णय नगरेको बताए ।