Skip to main content

जब कर्णाली नदीको झोलुंगे पुलको लठ्ठा टुट्यो ....

Submitted by editor on
ईबिगुल संवाददाता
फसेका १३ मध्ये

अछाम : कर्णाली नदीमाथिको झोलुंगे पुलमा फसेका १३ मध्ये दुई वटा खच्चड मरेका छन् । उद्धारका क्रममा दुई वटा खच्चडलाई बचाउन नसकिएको आठबीस नगरपालिका–६ का अध्यक्ष नवराज शर्माले जानकारी दिए ।

उनका अनुसार एक खच्चड पुलमै मरिसकेको थियो भने अर्को जाली काटेर नदीमा झारेपछि मरेको हो । ८ वटा खच्चडको उद्धार गरिएको उनले बताए ।
आइतबार बिहानै अछामको पञ्चदेवल नगरपालिका र दैलेखको आठबीस नगरपालिका जोड्ने कर्णाली नदीमाथिको झोलुंगे पुलको लठ्ठा चुडिँदा १३ वटा खच्चड फसेका थिए । जालीमा छिरेर अड्किएका ती खच्चडको उद्धारमा सुरक्षाकर्मी र स्थानीय लागेका थिए ।

फसेका खच्चडलाई पुलको जाली काटेर नदीमा खसालेर उद्धार गरिएको हो । नदीमा खसालिएका खच्चडलाई डुंगामार्फत् नदी किनारमा लगिएको छ । बाँकी तीन वटा खच्चडलाई उद्धार गर्ने काम चलिरहेको वडाध्यक्ष शर्माले जानकारी दिए । ती खच्चडहरूलाई नदीमा खसाल्न जोखिम भएकाले डोरीमा बाँधेर निकाल्ने प्रयास गरिएको उनले बताए ।

‘पुलको जाली काटेर खसाल्दा नदी छेउका ढुंगामा पर्छन्, त्यही भएर डोरी बाँधेर निकाल्न सकिन्छ कि भनेर लागेका छौं,’ उनले भने । आइतबार अछामको पञ्चदेवलबाट चामल लिन दैलेखको राकम बजार आउँदै गरेको १३ वटा खच्चड पुलमा फसेका थिए।