Skip to main content

महसुल नतिर्ने सामुदायिक विद्यालयको बिजुली काटियो, गर्मीमा विद्यार्थीको बिचल्ली

Submitted by editor on
एजेन्सीहरुको सहयोगमा
विद्यालयको लाइन काटिएको छ

रौतहट :  विद्युत महसुल नतिर्ने रौतहटका ३० वटा सामुदायिक विद्यालयको लाइन काटिएको छ । विद्युत महसुल नतिर्ने रौतहटको उत्तरी भेगका ३० वटा बढी सामुदायिक विद्यालयको लाइन  काटेको नेपाल विद्युत प्राधिकरण चन्द्ररपुर शाखाले जनाएको छ ।

नेपाल विद्युत प्राधिकरण चन्द्रपुर शाखाअन्तर्गत  चन्द्रपुर, गुजारा र वृन्दावन नगरपालिकामा रहेका सामुदायिक विद्यालयहरूको लाइन काटिएको हो। विद्यालयका नाममा जडान गरिएका मिटरहरूमा विद्युत महसुल धेरै उठेको र पटक–पटक महशुल तिर्नका लागि ताकेता गर्दा नतिरेका कारण बाध्य भएर विद्यालयको लाइन काटेको नेपाल विद्युत प्राधिकरण चन्द्रनिगापुर शाखाका प्रमुख धीरेन्द्र यादवले बताए ।

नेपाल विद्युत प्राधिकरण चन्द्रपुर शाखाले सामुदायिक विद्यालयहरूको लाइन काटेपछि ती विद्यालयमा अध्ययन गर्ने विद्यार्थीहरू पंखा चलाउन नपाउँदा गर्मीमा पीडित बनेका छन् । विद्यालय व्यवस्थापन समितिका अध्यक्ष तथा विद्यालयका प्रधानाध्यापकहरूले विद्युत महसुल तिर्ने तर्फ ध्यान नदिएका कारण विद्यालयको लाइन काटिएको हो । विद्यालयको लाइन काटिएपछि विद्यार्थीहरू बिना पंखा अध्ययन गर्न बाध्य भएका छन् ।

४० डिग्री गर्मीको बेला विद्यालयमा बिजुलीको लाइन काटिएपछि आफूहरू गर्मीमा कक्षाकोठामा बसेर पढ्न बाध्य भएको कृष्ण मावि बालचनपुरका विद्यार्थी हरिकृष्ण चौधरी दुखेसो पोखे। व्यवस्थापन समिति र प्रधानाध्यापकहरूले विद्युत महसुल तिर्न ध्यान नदिएका कारण विद्युत प्राधिकरणले बाध्य भएर सामुदायिक विद्यालयको विद्युतको लाइन काट्नु परेको प्रमुख यादवको भनाइ छ ।

हरेक महिनामा तिर्नुपर्ने विद्युत महसुल वर्षौंसम्म ती सामुदायिक विद्यालयहरूले नतिरेका कारण विद्युत प्राधिकरणले बाध्य भएर बिजुलीको लाइन काट्नु परेको जनाएको छ ।