Skip to main content

धनगढी उपमहानगरले चलाएको विशेषज्ञ वडा क्लिनिकमा ७८ हजार विरामीको सहभागिता

Submitted by editor on
ईबिगुल संवाददाता
‘विशेषज्ञ वडा स्वास्थ्य क्लिनिक’

धनगढी : कैलालीको धनगढी उपमहानगरपालिकाले सुरु गरेको ‘विशेषज्ञ वडा स्वास्थ्य क्लिनिक’ बाट कुल ७८ हजार ११७ सेवाग्राहीले सेवा प्राप्त गरेका छन् ।
उपमहानगरले सञ्चालन गरेको ग्रामीण अल्ट्रासाउण्ड कार्यक्रमबाट मात्र झण्डै पाँच हजार गर्भवतीको अल्ट्रासाउण्ड गरिएको छ । उपमहानगरपालिकाले दिएको तथ्यांकअनुसार कुल चार हजार ६ सय ९९ गर्भवतीको अल्ट्रासाउण्ड गराउँदा ४८ महिलामा जटिलता देखा परेपछि रेफर गरिएको छ ।

धनगढीमा अहिले ‘आमा बचाउ’ कार्यक्रमका लागि निःशुल्क एम्बुलेन्स सेवा सञ्चालनमा ल्याइएको छ । सो सेवा सञ्चालन भएयता पाँच सय ८० महिलाले सेवा प्राप्त गरेका छन् । तीन हजार ३८९ सुत्केरी आमालाई सुत्केरी भएको २४ घण्टा, तीन दिन र ७ दिनमा घरमै स्वास्थ्यकर्मी गएर जाँच गरिएको छ ।

धनगढी उपमहानगरपालिका र सुशील कोइराला प्रखर क्यान्सर अस्पताल खजुरा तथा विपी कोइराला मेमोरियल क्यान्सर अस्पताल भरतपुरको समन्वयमा अहिलेसम्म पाँचपटक क्यान्सर हेल्थ क्याम्प सञ्चालन गरिएको छ । सो क्याम्पबाट एक हजार ३८२ जनाले सेवा प्राप्त गरेकोमा ८४ जना शंकास्पद बिरामीलाई रेफर गरिएको छ ।

त्यस्तै फूलबारी स्वास्थ्य चौकीमा शु–स्वास्थ्य हस्पिटल काठमाण्डौंसँगको समन्वयमा उपमहानगरपालिकाले अकुपञ्चर, फिजियोथेरापी र प्राकृतिक चिकित्सा सम्वन्धि तीन दिने निःशुल्क स्वास्थ्य शिविर सञ्चालन गरिएपछि ८ सय एक जनाले सेवा प्राप्त गरेका छन् । २०७९ साउन १ गतेबाट तालिका अनुसार धनगढीको वडा नम्बर १९ बाट ‘विशेषज्ञ वडा स्वास्थ्य क्लिनिक’को शुभारम्भ गरिएको थियो ।

नगरप्रमुख गोपाल हमालले विशेषज्ञ चिकित्सकीय सेवाका लागि धनगढीस्थित सेती प्रादेशिक अस्पताल आउनुपर्ने बाध्यता अन्त्य गर्ने र उपमहानगरबासीले वडाबाटै स्वास्थ्य उपचार पाउने उद्देश्यले विशेषज्ञ वडा स्वास्थ्य क्लिनिक सेवा सुरु गरेका थिए । 

उपमहानगरको नीति र कार्यक्रममा प्राथमिक योजनामा रहेको वडा क्लिनिक सेवाबाट स्वास्थ्य लाभ लिनेको संख्या बढ्दै गएको छ। विशेषज्ञ वडा क्लिनिक सेवाको उद्घााटन तत्कालिन मुख्यमन्त्री त्रिलोचन भट्टले गरेका थिए ।