Skip to main content

काँग्रेसको आरोप ‘माननीयहरुलाई नदिएरै रातो किताब सार्वजनिक भयो’

Submitted by editor on
ईबिगुल संवाददाता
रातोकिताब

धनगढी : सुदूरपश्चिम प्रदेश सरकारको आगामी आर्थिक वर्ष २०८१÷८२ कार्यक्रम पुस्तिका (रातोकिताब) सार्वजनिक नहुँदै बजारमा आएको नेपाली कांग्रेसले दाबी गरेको छ ।

प्रदेश सरकारले असार १ गते प्रदेश सभामा आगामी आर्थिक वर्षको बजेट सार्वजनिक गरेको थियो । सो बजेट कार्यक्रम पुस्तिका प्रदेश सभामा छलफलको लागि पेस नगरी बजारमा आएको कांग्रेसले दाबी गरेको हो । धनगढीमा मंगलबार पत्रकार सम्मेलन गर्दै कांग्रेसले मुख्यमन्त्री दीर्घबहादुर सोडारीको राजीनामा समेत माग गरेको छ ।

कांग्रेसका सांसद तथा पूर्वमन्त्री प्रकाश देउवाले हालसम्म प्रदेश सभामा पेस नगर्दै बजारमा रातोकिताब पाउनु गम्भीर विषय भएको बताए । त्यस्तै कांग्रेस संसदीय दलका नेता तथा पूर्वमुख्यमन्त्री कमलबहादुर शाहले सरकार गैरजिम्मेवार बनेको भन्दै तत्काल राजीनामा दिनुपर्ने माग गरे । ‘हामी सडक र सदनमा सरकारविरुद्ध प्रतिरोध गर्छौ । सरकारले नैतिक रूपमा राजीनामा दिनुपर्छ ।’

तर प्रदेश सरकारले कुनै पनि माध्यममा हालसम्म रातोकिताब नराखेको जनाएको छ । सुदूरपश्चिमका आर्थिक मामिला मन्त्री सुरेन्द्रबहादुर पालले आधिकारिक रूपमा रातोकिताब सार्वजनिक नगरिएको बताए । उनले बजेट लगत्तै अर्थ सचिवको सरुवा भएको कारण रातोकिताब सार्वजनिक हुन नसकेको बताए ।

केही दिनमै रातो किताब सार्वजनिक गर्ने अहिले सार्वजनिक भएको बारेमा छानविन हुने मन्त्री पालले बताए । प्रदेश सरकारले आगामी आर्थिक वर्षका लागि कुल ३१ अर्ब ६२ करोड ९८ लाख ५८ हजार रुपैयाँको बजेट ल्याएको थियो ।