Skip to main content

सामाजिक विकासमन्त्री भाट भन्छन, ‘प्रदेशका अस्पतालमा बजेटको अभाव हुन दिन्न’

Submitted by editor on
ईबिगुल संवाददाता
ओमविक्रम भाट

धनगढी : सुदूरपश्चिम प्रदेशका सामाजिक विकास मन्त्री ओमविक्रम भाट (सरल)ले प्रदेशका सबै अस्पतालमा बजेट अभाव नहुने बताएका छन् । मन्त्रालयमा बिहिवार आयोजित स्वास्थ्य क्षेत्रमा विपद् पूर्व तयारी, व्यवस्थापन तथा अन्य विषयमा मेसु तथा अस्पताल व्यवस्थापन समितिका पदाधिकारीहरूसँग छलफल कार्यक्रममा बोल्दै उनले यस्तो बताएका हुन् । 

मन्त्री भाटले अस्पताललाई बजेट अभाव हुन नदिने र बजेट अभावकै कारण कुनै पनि अस्पतालमा औषधि, उपचार लगायत कर्मचारी व्यवस्थापनमा समस्या नहुने दाबी गरे । उनले महत्वपूर्ण कुराका रूपमा रहेको ओएनएमको विषय पनि प्राथमिकताका साथ अघि बढाइएको बताए । उनले सो फाइल मुख्यमन्त्री कार्यालयमा पठाइएको बताउँदै क्याबिनेटबाट कुनै पनि हालतमा ओएनएम गराइछाड्ने जिकिर गरे । मन्त्री भाटले आगामी दिनमा आउनसक्ने विपद् जोखिमको पूर्व तयारीका लागि पनि प्रदेशका सबै अस्पताल प्रमुखहरुलाई तयार रहन निर्देशन गरे ।

सो कार्यक्रममा सुदूरपश्चिमका सबै जिल्ला अस्पतालका अध्यक्ष र मेडिकल सुपरिटेन्डेन्टहरू सहभागी थिए । उनीहरूले प्रदेश सरकारको इतिहासमै सामाजिक विकास मन्त्रीले पहिलोपटक अध्यक्ष र मेसुहरूलाई बोलाएर सामूहिक छलफल गराएको भन्दै मन्त्रीको प्रशंसा समेत गरेका थिए । 

कार्यक्रममा उनीहरूले स्वास्थ्यकर्मीलाई दिनुपर्ने अतिरिक्त भत्ताको विषय पनि उठाएका छन् । सो विषय चाडै समाधान हुने र चिकित्सकलाई प्रोत्साहन भत्ता दिने कुरामा आफू प्रतिबद्ध रहेको मन्त्री भाटले बताए ।

त्यस्तै अस्पतालका मेडिकल सुपरिटेन्डेन्टहरूले आफ्नो र अस्पतालको सुरक्षाको विषय पनि महत्वपूर्ण रहेको कार्यक्रममा बताएका थिए भने सबै सुदूरपश्चिमका अस्पतालको स्तरवृद्धि गर्नुपर्ने सहभागी अध्यक्षहरूको भनाई थियो । त्यस्तै विपद्का लागि टिमहरू बनाएर तयारी थालिएको पनि अस्पतालहरूको दाबी छ ।