Skip to main content

बर्षाका कारण बैतडीका तीन घरमा क्षति, १५ जना विस्थापित

Submitted by editor on
ईबिगुल संवाददाता
तीन घरमा क्षति

बैतडी : लगातारको बर्षाले बैतडीका तीन घरमा क्षति भएको छ । जिल्लाको दशरथचन्द नगरपालिका, पुर्चौंडी नगरपालिका र मेलौली नगरपालिकामा एक÷एक घरमा क्षति भएको जिल्ला प्रहरी कार्यालय बैतडीका प्रवक्ता प्रहरी निरीक्षक बलराम पाण्डेयले जानकारी दिए । 

वर्षापछि शनिबार दिउँसो दशरथचन्द नगरपािलका ९ गुवाडा स्थित मनध्वज रानाको दुईतले कच्ची घर भत्किएको छ । उक्त घरमा बसोबास नभएकाले मानवीय क्षति भने भएको छैन् ।

यस्तै मेलौली नगरपालिका–२ टाकतोलास्थित सुशीलबहादुर चन्दको दुईतले कच्ची घरमा अविरल वर्षाका कारण क्षति पुगेको प्रहरी निरीक्षक पाण्डेयले जानकारी दिए । बर्षाको पानीले घरको पर्खाल भत्किएको हो । 

यस्तै पुर्चौडी नगरपालिका नगरपालिका ९ डण्डाखाली रिउले सार्कीको घरमा पहिरोले क्षति पुर्याएको छ । रिउलेको निर्माणाधिन घरमा माथिबाट खसेको पहिरोले क्षति पुगाएको छ ।

यसका साथै पहिरोकै कारण सोही ठाउँका तीन घर जोखिममा परेका छन् । स्थानीय रिउले सार्की,झुसे सार्की र काशी सार्कीको घर पहिरोको उच्च जोखिममा परेका हुन् । जोखिममा रहेका तीनवटै घरका १५ जनालाई सुरक्षित स्थानमा सारिएको प्रहरीले जनाएको छ ।

लगातार बर्षा भइरहेकाले सतर्कता अपनाउन जिल्ला विपद् व्यवस्थापन समितिले आग्रह गरेको छ । बर्षाका कारण आकस्मिक विपद्का घटना हुन सक्ने भएकाले सावधानी अपनाउन प्रमुख जिल्ला अधिकारी भीमकान्त शर्माले आग्रह गरेका छन् ।

जल तथा मौसम विज्ञान विभागले बर्षा जारी रहेकाले बैतडीसहितका जिल्लाहरुलाई रेडजोनमा राखेको छ । लगातारको बर्षाले बाढी पहिरोका घटना हुन सक्ने भएकाले सतर्कता अपनाउन आग्रह गरेको छ ।