Skip to main content

सुदूरपश्चिमको बजेट अन्यौलमा, बजेट होलीडेको खतरा बढदै

Submitted by editor on
सरकार बन्न कम्तीमा पनि एक महिना लाग्नेछ । संविधान अनुसार असार मसान्तभीत्र बजेट पास गरिसक्नुपर्छ । त्यो नभए बजेट होलीडेको सम्भावना प्रबल रहेको छ ।
शिवराज भट्ट
बजेट अन्यौलमा

धनगढी  ः केन्द्रमा सत्ता समिकरण फेरिएसँगै सुदूरपश्चिमको बजेट अन्यौलमा परेको छ । समाजवादीका दीर्घबहादुर सोडारीको नेतृत्वमा रहेको सरकारका आर्थिक मामिला मन्त्री (एमाले) सुरेन्द्र बहादुर पालले असार १ गते ३१ अर्ब ६२ करोड ९८ लाख २८ हजार रुपैयाँको बजेट ल्याएका थिए ।

तर अहिलेसम्म सुदूरपश्चिमको प्रदेश सभामा बजेटमाथि छलफल नै सुरु भएको छैन । बजेटलाई लिएर सत्तारूढ दलहरूबीच नै चर्को असन्तुष्टि रहेका देखिन्छ । केन्द्रमा सत्तासमीकरण बदलिएसँगै प्रदेश सरकार पनि फेरिने भएपछि बजेट पारित हुनेमा संशय देखिएको हो ।

‘बजेट माथिको छलफल नै सुरु भएको छैन । सत्ताको मुख्य दल नेकपा एमालेले सरकारको समर्थन फिर्ता लिएर मन्त्रीहरु फिर्ता बोलाई सकेको छ । यस्तो अवस्थामा बजेट कसरी पास हुन्छ ?’ नेपाली काँग्रेसका प्रमुख सचेतक विक्रम सिह धामी भन्छन ।

नेपाली काँग्रेसको यस बजेटप्रति सुुरुवात देखि नै असन्तुष्टि थियो । ‘पहिलो कुरा त बजेटमा मनपरि गरिएको छ । क्रमागत योजनाहरुमा बजेट हालिएको छैन । आफ्नो निर्वाचन क्षेत्रमा पर्ने गरि बजेट बनाईएको छ । त्यसै पनि यसमा ब्यापक असन्तुष्टि थियो, अब त सरकारमा रहेको दल अथवा बजेट ल्याउने दलकै अर्थमन्त्रीले राजीनामा दिईसकेपछि बजेट पास हुने कुरै भएन’ काँग्रेसका प्रदेश सभा सदस्य तथा पूर्व भौतिक पुर्वाधार विकास मन्त्री प्रकाश देउवाले भने ।आफै बजेट ल्याएको नेकपा एमाले पनि यस बजेटलाई पास गर्ने पक्षमा छैन । 

बजेट पुरै कर्मचारीहरुले बनाएको, बजेटमा मुख्यमन्त्री सोडारीको पुरै हस्तक्षेप रहेको भन्दै एमालेभीत्रै असन्तुष्टि थियो । ‘असारको २८ गते हामी मन्त्री भयौं, तबसम्म बजेट तयार भईसकेको थियो, बजेटलाई राम्रारी हेर्नै पाईएको थिएन, तर पनि बजेट ल्याईयो, अब सत्ता परिवर्तन भएको छ, कानून अनुसार के हुन्छ, त्यसै होला’ राजीनामा दिईसकेको आर्थिक मामिला मन्त्री सुरेन्द्र बहादुर पालले भने ।

नयाँ सरकार गठन गर्न कम्तीमा एक महिना समय लाग्नेछ, तर कानुनअनुसार असार मसान्तभित्र बजेट पारित गरिसक्नुपर्छ । बजेट सार्वजनिक भएपछि प्रदेश सभा बैठक बस्न सकेको छैन । असार तेस्रो सातापछि प्रदेश सभामा बजेटमाथिको छलफल सुरु गर्ने सरकारको तयारी थियो ।

एमाले नेताहरूले नयाँ सरकार बन्ने भएकाले अहिलेको सरकारले ल्याएको बजेट पारित नगर्ने बताएका छन । मन्त्री पालले समीकरण फेरबदल भएकाले बजेटमा कसरी जाने भनेर छलफल भइरहेको बताए । नयाँ बजेट ल्याउने वा पूरक बजेट ल्याउने भन्नेबारेमा कानुनी परामर्श गरिने उनले बताए । 

प्रदेश सरकार निर्माणका सन्दर्भमा कांग्रेस–एमालेले प्रारम्भिक छलफल सुरु गरेका छन । कांग्रेस संसदीय दलका नेता कमलबहादुर शाह र एमाले संसदीय दलका नेता राजेन्द्रसिंह रावलबीच सरकार गठनबारे मंगलबार छलफल भएको थियो । 

एमाले काँग्रेस बीच भएको प्रारम्भीक सहमतिमा सुदूरपश्चिम काँग्रेसको भागमा पर्ने भएको छ । काँग्रेस संसदस्य दलका नेता कमल बहादुर शाह र पूर्व भौतिक पुर्वाधारमन्त्री प्रकाश देउवा सरकार गठनकै बारेमा पार्टी नेतृत्वसँग परामर्षका लागि संघीय राजधानी गएका छन ।

कांग्रेसले बिचौलियाको सेटिङमा बजेट आएको आरोप लगाउँदै बजेटको विरोध गर्दै आएको छ । यो बजेट पारित हुन नदिने कांग्रेसले जनाएको छ । कांग्रेस संसदीय दलका नेता कमलबहादुर शाहले बजेट निर्माणका क्रममा बिचौलियाको चलखेल भयो भन्ने जनगुनासो रहेकाले आफ्नो दलले सुरुबाटै बजेटको विरोध गरिरहेको बताए ।

बजेट होलिडेको खतरा
एमाले बाहिरिएपछि सुदूरपश्चिम प्रदेशमा बजेट होलिडेको जोखिम बढेको छ । असारभित्र प्रदेश सभाबाट बजेट पारित गरिसक्नुपर्ने भए पनि सरकार अल्पमतमा परेसँगै अब त्यो सम्भावना देखिदैन ।

प्रदेशमा नयाँ सरकार गठन गर्न कम्तीमा एक महिना समय लाग्नेछ, तर कानुनअनुसार असार मसान्तभित्र बजेट पारित गरिसक्नुपर्छ । असार मसान्तभित्र बजेट पारित नभए १ साउनदेखि सरकारले राजस्व उठाउन र खर्च गर्न पाउनेछैन अर्थात् बजेट होलिडे हुनेछ । 

अहिलेको राजनीतिक परिस्थितिले प्रदेशमा यही अवस्था सिर्जना हुने देखिन्छ । बजेट पारित नहुने अवस्थामा तत्कालको संकट टार्न सरकारले अध्यादेशबाट बजेट ल्याउने वा आर्थिक ऐन संशोधन गर्न सक्नेछ ।