Skip to main content

कैलाली र कञ्चनपुर डुबानमा, ६४१ परिवारलाई सुरक्षीत स्थानमा सारियो

Submitted by editor on
कञ्चनपुरमा ५११ परिवारका १७ सय २८ जना र कैलालीमा १३० परिवारका ५८७ जनालाई सुरक्षीत स्थानमा सारिएको डिआईजी केसीले बताए । आइतबार साँझदेखि वर्षा हुने क्रम बढेपछि राति प्रभावितहरुको संख्या समेत बढेको थियो ।
शिवराज भट्ट
६४१ परिवार प्रभावित

धनगढी : वर्षासँगै आएको बाढी र डुबानले कैलाली र कञ्चनपुरमा ६४१ परिवार प्रभावित भएका छन् । शनिबार देखिको वर्षापछि आएको बाढी बस्तीमा पसेपछि दुवै जिल्लाका बाढी तथा डुबानबाट प्रभावित परिवारलाई सुरक्षित स्थानमा सारिएको छ ।

सुदूरपश्चिमका प्रहरी प्रमुख, प्रहरी नायब महानिरीक्षक (डीआईजी) रबिन्द्र केसीले दुवै जिल्लाका ६४१ परिवारका २३ सय १५ जनालाई सुरक्षित स्थानमा सारिएको जानकारी दिए । उनीहरुलाई सामुदायिक विद्यालय र सामुदायिक भवनमा राखिएको छ ।

कञ्चनपुरमा ५११ परिवारका १७ सय २८ जना र कैलालीमा १३० परिवारका ५८७ जनालाई सुरक्षीत स्थानमा सारिएको डिआईजी केसीले बताए । आइतबार साँझदेखि वर्षा हुने क्रम बढेपछि राति प्रभावितहरुको संख्या समेत बढेको थियो । 

कञ्चनपुरका विभिन्न स्थानमा नदी तथा खोलाको भंगालोमा फसेका २९ जनाको सकुशल उद्दार समेत गरिएको डीआईजी केसीले जानकारी दिए ।
अहिलेसम्म कञ्चनपुरमा घरभित्र जमेको पानीमा डुबेर ७ महिनाको शिशुको मृत्यु तथा कैलाली र कञ्चनपुरमा नदीमा डुबेर दुई जना बेपत्ता भएको बाहेक थप मानवीय क्षति नभएको प्रदेश प्रहरी कार्यालयले जनाएको छ ।

डीआईजी केसीले बाढी, पहिरो तथा डुबानबाट प्रभावित भएकाहरुको उद्धारका लागि प्रदेशभर दुई हजार तीन सय भन्दा बढी प्रहरी परिचालन गरिएको जानकारी दिए । 

सोमबार बिहान बसेको प्रदेश सुरक्षा समितिको बैठकले बाढी, पहिरो र डुबानबाट प्रभावित भएकाहरुको उद्धारलाई तीव्रता दिने, उनीहरुको व्यवस्थापनसँगै खानपानमा समेत विशेष ख्याल गर्ने तथा उद्दार तथा राहतमा सुरक्षा निकायसँगै राजनीतिक संयन्त्रलाई समेत सक्रिय बनाउने निर्णय भएको छ ।

जिल्ला प्रहरी कार्यालय कैलालीका अनुसार बाढी तथा डुबानबाट कैलालीको पूर्वी भूभाग बढी प्रभावित भएको छ । कैलालीका प्रमुख प्रहरी उपरीक्षक (एसपी) पदमबहादुर बिष्टले कान्द्रा र काँडा नदीका कारण भजनी नगरपालिका र जोशीपुर गाउँपालिका क्षेत्र डुबानमा परेको जानकारी दिए ।

उनका अनुसार भजनी नगरपालिकाका वडा नम्बर ५ र ७, जोशीपुर गाउँपालिकाका वडा नम्बर ३ र ८ तथा टीकापुर नगरपालिकाको वडा नम्बर ६ बाढी र डुबानका कारण प्रभावित भएका छन् ।

धनगढी उपमहानगरपालिकाका वडा नम्बर १८ र १९ तथा गौरीगंगा नगरपालिकाका केही वडा समेत डुबानमा परेका छन् । ती ठाउँमा पनि रातिदेखि नै उद्धारको कार्य जारी रहेको एसपी विष्टले बताए ।