Skip to main content

अस्पताल खोल्ने भन्दै सञ्चालनमा आएको चर्चलाई कुनै पनि गतिविधि नगर्न निर्देशन

Submitted by editor on
ईबिगुल संवाददाता
लेट मेइन

धनगढी : धनगढी उपमहानगरपालिकाले धनगढीको मनेहरामा अस्पताल खोल्ने भन्दै खोलिएको चर्चमा कुनै पनि गतिबिधि वा ब्यवसाय नगर्न निर्देशन दिएको छ । 

सोमबार धनगढी उपमहानगरले २४ घण्टे स्पष्टिकरण सोधेकोमा त्यसको कुनै पनि जवाफ नआएको र वडा कार्यालयबाट लिईएको अनुमति भन्दा फरक ब्यवसाय गरिरहेको थाहा पाईएकाले तत्कालका लागि ती सबै गतिविध रोक्न निर्देशन दिएको हो ।

प्रमुख प्रशासकीय अधिकृत नरेन्द्र बहादुर खातीले मंगलबार एक सूचना जारी गर्दै लेट मेइन धनगढी प्रालिले अनुमति लिएको भन्दा फरक काम गरिरहेको जनगुनासो आएकाले थप छानविन गर्नुपर्ने भएकाले, छानबिन अवधीभरी कुनै पनि गतिविधि नगर्न निर्देशन दिएका हुन ।

धनगढी उपमहानगरपालिकाको वडा नम्बर ७ मनेहरामा स्थानीयलाई अस्पताल खोल्ने भन्दै सहमति गराएर  लेट मेइन धनगढी प्रालिले चर्च सञ्चालन गरेको थियो । उपमहानगरपालिकाले सोमबार लेट मेइन धनगढी प्रालिलाई २४ घण्टा भित्र लिखित जवाफ दिन पत्र काटेपछि सो अवधीभीत्र उसले जवाफ नफर्काएको उपमहानगरले जनाएको छ ।

उपमहानगरपालिकाले विभिन्न मिडियामा आएको समाचार तथा स्थानीयको समेत गुनासो आएकाले संस्था दर्ता भए÷ नभएको, भवनको नक्सा पास भए÷नभएको, जग्गा धनीसँग गरिएको सम्झौता, सम्झौता बमोजिम कार्यक्रम  भए÷ नभएको लगायतका प्रमाण माग गरेको थियो ।

लेट मेइन धनगढी प्रालि नामक संस्थाले जग्गा धनी प्रभाकर भण्डारीबाट १५ वर्षका लागि जमिन भाडामा लिएर अस्पताल निर्माण गर्ने भन्दै चर्च निर्माण गरिएपछि स्थानीयले विरोध गरेका थिए । वडा नम्बर ७ को कार्यालयबाट सेमिनार र तालिम चलाउने भन्दै इजाजत लिएर सो भवनमा नेपाल लाइफ वर्ड मिसनले अहिले चर्च चलाएको छ । 

चर्चमा इसाई रिलिजन प्रचार गर्न दुई जना कोरियन नागरिक समेत झिकाईएका छन । अहिले उक्त भवनमा ईसाई धर्मको धनगढी मण्डली सञ्चालनमा ल्याइएको छ । छालाको अस्पताल खोल्ने भन्दै स्थानीयलाई झुक्याएर आलिसान भवन बनाएर चर्च भवन निर्माण गरेर संगति लाग्न थालेपछि स्थानीयले विरोध गरेपछि उपमहानरले २४ घण्टे स्पष्टिकरण सोधेको हो ।