Skip to main content

फरक क्षमताका विद्यार्थीको विशेष विद्यालयको भवन निर्माण सुरु

Submitted by editor on
ईबिगुल संवाददाता
 विद्यालय भवन

धनगढी : कैलालीको सुखडमा फरक क्षमताका विद्यार्थीको विशेष विद्यालय भवन निर्माणको काम सुरु भएको छ।

सुदूरपश्चिम प्रदेशको नै नमुना भनिएको आवास सुविधासहितको विद्यालय भवन निर्माणको काम शुक्रवारदेखि सुरु भएको हो। शिलान्यासको सात वर्षपछि प्रदेश स्तरीय विशेष शिक्षा आवासीय विद्यालय भवन निर्माणको काम अघि बढेको छ। शुक्रवार घोडाघोडी नगरपालिकाका नगर प्रमुख खडक बहादुर रावत, उपप्रमुख गुलिया चौधरी र प्रधानाध्यापक धनबहादुर बमले भवन निर्माणको काम सुरुवात गरेका छन्।

२०७६ साल असार १४ गते तत्कालीन शिक्षामन्त्री गिरिराजमणि पोख्रेलले नै तामझामका साथ विद्यालयको भवन शिलान्यास गरेका थिए। कार्यक्रममा घोडाघोडीका तत्कालीन नगर प्रमुख ममता प्रसाद चौधरी, उप–प्रमुख प्रेम कुमारी थापासहितका जनप्रतिनिधि समेत सहभागी थिए। तत्कालीन अवस्थाको नगरको नेतृत्व फेरिए पनि विद्यालय भवन निर्माणको कामले भने प्राथमिकता पाउन सकेको थिए। राष्ट्रिय माध्यमिक विद्यालयको अध्यक्षमा खगेन्द्र हमाल आएपछि अतिक्रमण गरिएको जग्गा खाली गर्दै भवन निर्माणको काम थालिएको हो।

पहिलो पटक हचुवाको भरमा काम गर्न खोजिएकाले भवन निर्माण हुन नसकेको राष्ट्रिय माध्यमिक विद्यालय सुखडका अध्यक्ष खगेन्द्र हमाले बताए। ‘पहिला ठाउँ निश्चित थिएन। पर खोलाको किनारमा शिलान्यास गरिएको थियो। जुन प्राविधिक हिसाबले पनि उपयुक्त ठाउँ थिएन। त्यही खोला किनारमा भवन बनाउने भनेर सरकारले जग्गा व्यवस्थापनका नाममा लाखौँ खर्च समेत गरेको थियो। तर, त्यो सम्भव भएन। हामीले आफ्नै अतिक्रमित जग्गा खाली गराएर आज पुनः शिलान्यास गरेर काम अघि बढाएका छौ। अब पहिला जस्तो हुँदैन।’ उनले भने।

भवन निर्माणको जिम्मा मालिका मष्टा निर्माण लम्कीले पाएको छ। कुल २ करोड १६ लाख ७८ हजार ९ सय ३१ रुपैयाँ लागत रहेको विद्यालय भवन २०८२ साल असार ५ भित्र सम्पन्न गर्न २०८१ फागुन ८ गते सम्झौता भएको थियो। सम्झौतामा फिजियोथेरापी, क्यान्टिन र होस्टेल गरी तीन वटा ब्लक निर्माण हुने छन्।