अत्तरिया : जेनजी आन्दोलनका क्रममा प्रदर्शनकारीको सहयोगमा कैलाली कारागारबाट भागेका २५ जना कैदीबन्दीलाई प्रहरीले पक्राउ गरेको छ ।
जिल्ला प्रहरी कार्यालय र मातहतबाट खटिएको टोलीले विभिन्न स्थानबाट २५ जना कैदीबन्दीलाई पक्राउ गरेको हो ।
जिल्ला प्रहरी कार्यालयका प्रवक्ता प्रहरी नायब उपरीक्षक (डीएसपी) राजकुमार सिंहले बिहीबारसम्म पक्राउ परेका उनीहरूलाई कारागार पठाइएको बताए ।
पक्राउ परेका मध्ये तीन जना कैदीबन्दी भने आफैं प्रहरीको सम्पर्कमा आएका थिए । यसैबीच, जिल्ला कारागार कैलालीले कैदीबन्दीहरूलाई सम्पर्कमा आउन अनुरोध गरेको छ । कारागार प्रशासक चिरञ्जीवी सापकोटाले सूचना जारी गर्दै कारागारको बन्दी गृहबाट भागेका कैदीबन्दीलाई अबिलम्ब सम्पर्कमा आउन भनेका छन् ।
“कारागार व्यवस्थापन विभागको मिति २०८२\०५\२६ गतेको सूचना अनुसार यस कारागार कार्यालय, कैलालीबाट मिति २०८२\०५\ २४ गते बन्दीगृहबाट बाहिर निस्किएका कैदीबन्दीहरू अविलम्ब कारागार कार्यालय, कैलाली वा नजिकैको प्रहरी कार्यालयको सम्पर्कमा आउन हुन यो सूचना जारी गरिएको छ। अन्यथा कारागार ऐन अनुसार भईजाने व्यहोरा समेत सबैमा जानकारी गराईन्छ,” उनले जारी गरेको सूचनामा उल्लेख गरिएको छ ।
कैलाली कारागारको बन्दी गृहबाट मंगलबार जेनजीका प्रदर्शनकारीले छ सय ६६ जना कैदीबन्दीलाई निकालेर भगाएका थिए । कारागारमा छ सय ६७ कैदीबन्दी रहेपनि एक जना भने उपचाररत रहेका कारण भाग्न नपाएको कारागारले जनाएको छ ।