Skip to main content

देशाटनमा सुदूूरपश्चिमका मुख्यमन्त्री, ११ महिनामा २२ पटक काठमाण्डौंको सयर

Submitted by editor on
मुख्यमन्त्री शाह कुनै महिना त तीन÷तीन पटक काठमाण्डौं गएका छन । २०७९ सालको फागुुन ९ गते, २४ गते र २८ गते गरी एकै महिनामा उनी संघीय राजधानी गएका हुन ।
शिवराज भट्ट
कमल बहादुर शाह


धनगढी : सुदूरपश्चिम प्रदेश सरकारको नेतृत्व लिएपछि देखिने कामै नगरेको भन्दै आलोचना खेपिरहेका मुख्यमन्त्री कमल बहादुर शाह ११ महिनामा २२ पटक काठमाण्डौं गएका छन । 

कमल बहादुर शाहले २०७९ सालको माघ २७ गते मुुख्यमन्त्री पदको सपथ लिएका थिए । उनको काठमाण्डौंको यात्रा सपथ लिएको भोलिपल्टै देखि सुरु भएको देखिन्छ । माघ २७ गते सपथ लिएर उनी २८ गते नै संघीय राजधानी उडेका थिए । शाहले त्यो दिनको भ्रमणको कारण प्रधानमन्त्रीसँग भेटघाट तथा छलफल देखाएका छन ।

मुख्यमन्त्री शाह कुनै महिना त तीन÷तीन पटक काठमाण्डौं गएका छन । २०७९ सालको फागुुन ९ गते, २४ गते र २८ गते गरी एकै महिनामा उनी संघीय राजधानी गएका हुन ।  फागुन २४ गएर २६ गते फर्किएका मुख्यमन्त्री २७ गते एक दिन मात्र धनगढी बसेर फेरि २८ गते संघीय राजधानी उडेको मुख्यमन्त्री तथा मन्त्रीपरिषदको कार्यालयको तथ्यांकमा उल्लेख छ । 

माघको २८ गते प्रधानमन्त्रीसँग भेटघाट गर्न गएका मुख्यमन्त्री शाहले फागुनको ९ गते र २४ गते पनि त्यही शिर्षकमा भत्ता बुुझेका छन । ११ महिनामा २२ पटक संघीय राजधानीको सयर गरिसकेका मुुख्यमन्त्री शाहले १० पटकको यात्रा प्रधानमन्त्रीसँग भेटघाट र छलफलका लागि भएको भनेर टिकट, भत्ता बुुझेका छन । 

मुख्यमन्त्री तथा मन्त्रीपरिषदको कार्यालयले दिएको सूचना अनुसार मुख्यन्त्री शाहको २२ वटा संघीय राजधानी काठमाण्डौंको भ्रमणमा ५ लाख ५६ हजार ८२६ रुपैया खर्च भएको छ । 

उनले बुुझेको खर्च विवरणमा पनि एकरुपता छैन । मुख्यमन्त्री शाहले २०८० साउन १ गते देखि २०८० साउन ८ गतेसम्मका ८ दिन प्रधानमन्त्री पुुष्पकमल दाहालको पत्नीको श्रद्धाञ्जली सभामा सहभागि हुन काठमाण्डौ गएको उल्लेख गरेका छन । त्यो ८ दिनको खर्च बाफत उनले ३५ हजार ५२५ रकम बुुझेका छन भने २०८० असोज २६ गते देखि २८ गतेसम्म पिएलजिएसपीको राष्ट्रिय निर्देशक समितिको बैठक भन्दै ३ दिनको खर्च ३० हजार ७११ रकम बुुझेका छन ।

मुख्यमन्त्री शाहकोे काठमाण्डौं भ्रमण धेरै भयो भनेर उनकै पार्टी भीत्र पनि आलोचना हुन थालेको छ । सत्ता गठबन्धनका सारथी दलहरुभीत्र पनि मुख्यमन्त्री शाह कुनै पनि निर्णय आफुु गर्न नसक्ने भन्दै आलोचना गर्न थालेका छन । 

सत्ता गठबन्धनकै एक नेता भन्छन, ‘मुख्यमन्त्री शाहमा आफु निर्णय गर्न सक्ने क्षमताको अभाव देखियो । स–सानो निर्णयका लागि पनि राजधानी  जाने हो भने संघीयता किन चाहियो ?’

पुर्व मुख्यमन्त्रीहरु पनि अहिलेका मुख्यमन्त्रीको राजधानी बसाई प्रति बेखुस छन । पुर्व मुख्यमन्त्री त्रिलोचन भट्ट भन्छन, ‘मेरो पालामा ठुलै निर्णयका लागि मात्र काठमाण्डौं गईन्थ्यो । धेरै काम त फोनबाटै हुन्छ नी । मुख्यमन्त्री तथा मन्त्रीपरिषदको कार्यालयमा त्यत्रो एलईडी छ, अहिले त ईन्टरनेटको जमाना हो, भर्चुअल बैठक गरेपनि हुन्छ नी ।’ 

उनले प्रदेश सरकार गतिहीन भएको बताए । ‘मुख्यमन्त्री आधाभन्दा बढी समय काठमाण्डौंमा विताउछन । उनमा ‘डिसिजन पावर’ कम भएजस्तो देखिन्छ । त्यसैले हामीले अब सरकारको नेतृत्व परिवर्तन हुनुपर्छ भनिरहेका छौं’ पुर्व मुख्यमन्त्री भट्टले भने ।

पुर्व मुख्यमन्त्री राजेन्द्र सिह रावल त अहिलेको सरकार टीर्थाटनमा रमाएको आरोप लगाउछन । भन्छन, ‘यो सरकार तीर्थाटनमा रमायो । आफैले पास गरेको बजेटको कार्यान्वयनमा ध्यान छैन । बहुबर्षिय योजनाहरुको अवस्था नाजुक छ । बजेटको कुनै मध्यावधी समिक्ष हुन सकेको छैन । संसदलाई कामविहिन बनाइएको छ ।’ 

प्रमुख प्रतिपक्षी दलका नेता समेत रहेका रावलले अहिलेको सरकार जिम्मेवार र जवाफदेहि पनि हुन नसकेको आरोप लगाए । ‘भाषणमा भ्रष्टाचारमा सुन्य सहनशीलता भनिन्छ तर नीतिगत भ्रष्टाचार मौलाएको छ’ उनले भने ।