Skip to main content

बैतडीका नरबहदुरको ३० वर्षदेखि ओढारको बास

Submitted by editor on
६४ वर्ष उमेर बताउने चन्दको मानसिक अवस्था केही कमजोर भएजस्तो देखिन्छ । आमा÷बुवाको मृत्यु भएदेखि नै चन्द त्यहीँ ओढारमा बस्दै आएका स्थानीय बताउछन् ।
कृष्ण बिष्ट
चन्द


बैतडी : हेर्दा डरलाग्दो टोपी खस्ने भीर, भीरको माथिल्लो चुचुरोमा छ ढुंगाको ठूलो ओढार । त्यहीँ ओढारमा बिगत ३० वर्षदेखि बस्दै आएका छन्, मेलौली नगरपालिका–३ ढणौनका नर बहादुर चन्द । 

सामान्य मानिसले सहजरुपमा हिड्न र बस्न नै नसक्ने अवस्थाको ढणौन गाउँ नजिकैको ओढारमा चन्द बिगत ३० वर्षदेखि बस्दै आएका छन् । ओढारभित्र कुच्चिएका स्टील तथा प्लाष्टिकका भाडाकुडा र छोडेर फालेका झुत्रिएका लुगा बाहेक केही छैन । 

६४ वर्ष उमेर बताउने चन्दको मानसिक अवस्था केही कमजोर भएजस्तो देखिन्छ । आमा÷बुवाको मृत्यु भएदेखि नै चन्द त्यहीँ ओढारमा बस्दै आएका स्थानीय बताउछन् । 

बुवा आमाको एक्लो सन्तान हुन चन्द । उनी बाल्यकालमै बुवासँग भारत गएको सम्झिन्छन । भारतमा रहेका बखत एक्कासी बेपत्ता भएका चन्द ३५ वर्षपछि घर फर्किए । मानसिक अवस्था कमजोर भएर घर फर्किएको केही समयपछि आमाबुवा गुमाएका चन्दले त्यसपछी घरमा बस्न छाडे । अहिले ६४ वर्ष उमेर बताउने उनि ओढारमै बस्छन् ।  

छरछिमेकीको दाउरा बोक्ने, सरसामान ओसार्ने लगायतका सक्दो अनुसारको काम गरी बेलुका चामल किनेर ओढारमा फर्किने उनको दैनिकि बनेको छ । गाउँमा मानसिक सन्तुलन गुमाएका भनिएपनि उनमा त्यस्तो लक्षण खासै केही देखिदैन । 

एकसरो लुगा समेत नरहेका उनि दिनैभर गाउँलेहरुको दाउरा बोकेर खाद्यान्न जोहो गर्छन । सामान किनेर ओढारमा फर्किने, आफै पकाएर खाने र पुुरानै भएपनि लुुगाकपडा फेरिरहने उनलाई मानसिक अस्था कमजोर भएका पनि कसरी भन्ने ?

उनि भन्छन्, ‘एक्लाको हातबाट घर बन्दैन, कसरी घरजम बस्छ ?’ ओढारमा बस्दा निकै चिसो हुने गरेको उनि बताउछन् । ‘साँझपख हावाहुरी चल्छ, राती त निकै चिसो हुन्छ, पानी परेको समयमा बस्नै सकिन्न, लुगा छैन ।’

दिनैभर गाउँ चहारेर बेलुका ओढारमा फर्किने चन्दका अधिकांश रात, भोकै बित्ने गरेका छन् । ‘दिनदिनै कहाँबाट पकाउने? कसैले पैसा दिएपछि किन्छु, अन्न सागपात दिए ल्याएर पकाउछु, नत्र  भोकै सुत्छुु’ उनि भन्छन् । चन्दलाई केही प्रश्न गर्ने क्रममा सहजै छोटो जवाफ दिने गर्छन । 

कुनै स्थानीयलाई कुट्ने, झम्टने, चोरी गर्ने लगायतका कुनै पनि अवान्छित काम नगर्ने गरेको भतिजा समेत रहेका पंकज चन्दले बताए । घरमा बस्नको लागि धेरै प्रयास गरिएको भएपनि नमान्ने गरेका भतिजा पंकज बताउछन् । ‘हामिले घरमा बस्नु भनेर धेरै आग्रह ग¥यौँ, तर मान्नुुहुन्न’ पंकज भन्छन ।

कुनै दातृ निकाय र संघसंस्थाद्वारा उपचार गराउन सके निको हुने विश्वास गरिएको वडा सदस्य समेत रहेका आफन्त शेर बहादुर चन्द बताउछन् । ‘एकोहोरो दिमाग चल्छ, दयनीय अवस्थामा बस्दै आएका छन्, घरमा राख्ने हरसम्भव प्रयास गरिएको हो, तर सकिएन, केही संस्था र दातृ निकायले सहयोग गरेमा निको हुन्थेकी भन्ने लाग्छ’ वडा सदस्य चन्द भन्छन् । 

घर परिवारका एक्ला सदस्य भएकाले आर्थिक अभावमा उपचारका लागि लैजान नसकिएको समेत चन्दले बताए ।