बैतडी : बैतडीमा एक पुरुषले कोदालो प्रहार गरि श्रीमतीको हत्या गरेका छन भने २ जनालाई गम्भीर घाइते बनाएका छन् ।
डिलाशैनी गाउँपालिकाको वडा नम्बर ७ धामीगाउँका ६२ वर्षीय किसनसिंह धामीले कोदालो प्रहार गरी ५६ वर्षीया श्रीमती पार्वती धामीको हत्या गरेका हुन भने दशरथचन्द नगरपालिका ९ घर भएर डिलाशैनी गाउँपालिकामा उद्यम विकास शाखा प्रमुखका रूपमा कार्यरत २९ सुभाष कलौनी र डिलाशैनी गाउँपालिकामा कार्यालय सहयोगीका रूपमा कार्यरत २६ वर्षीय देवराज भट्टलाई घाइते बनाएका हुन् ।
बिहीबार बिहान ९ बजे किसनले आफ्नी श्रीमतीलाई कोदालो प्रहार गरेको र त्यसपछि उनकै घरमा डेरा गरि बसिरहेका कलौनी र भट्टमाथि पनि कोदालो प्रहार भएको बैतडीका प्रहरी प्रमुख, प्रहरी नायव उपरीक्षक दीपक गिरीले जानकारी दिए ।
घाइते भएका तीनै जनाको स्थानीय स्वास्थ्य चौकीमा उपचारका लागी ल्याउदा श्रीमतीको बाटोमै मृत्युु भइसकेको छ भने गम्भीर घाइते भट्ट र कलौनीलाई थप उपचारका लागि सुर्खेतबाट नेपाली सेनाको हेलिकप्टर मगाइएको जिल्ला प्रहरी कार्यालय बैतडीले जनाएको छ ।
कोदालो प्रहार किन गरे भन्ने बारे खुल्न सकेको नसकेको प्रहरीले जनाएको छ । कोदालो प्रहार गर्ने किसनलाई प्रहरीले नियन्त्रणमा लिएको छ । घटनाबारे अनुसन्धान गर्न जिल्ला प्रहरी कार्यालय बैतडीका प्रहरी निरीक्षक खेमविक्रम केसी नेतृत्वको टोली घटनास्थलतर्फ गएको छ ।