महेन्द्रनगर : सुदूरपश्चिमका हरेक बस्तीमा यतिखेर होलीको रङले एक अर्कालाई रंग्याउँदै लोक भाकामा गाइएका भगवान श्रीकृष्ण र रामलगायतका गाथाले गुञ्जयमान बनेको छ ।
असत्य माथि सत्यको विजय उत्सवका रुपमा मनाइने होली पर्व सुदूरपश्चिमका हरेक जिल्लामा पृथक तरिकाले मनाइने गरिन्छ । सुदूरपश्चिममा फागुन शुक्ल एकादशीका दिन बाट पाचँ दिनसम्म होली उल्लासका साथ मनाउने गरिन्छ । कैलाली कञ्चनपुरका रानाथारु समुदायले परम्परागत पहिरनमा होली पर्व मनाउने गरेका छन भने अन्य पहाडी जिल्लाबाट यहाँ बसाइसराइ गरी आउनेहरुले पनि आ–आफ्नै ढंगले होली मनाउने गरेका छन ।
नेपालमा रङ दलेर होली मनाइने भएपनि सुदूरपश्चिममा श्रीकृष्ण र राम भगवानका गाथा लोक भाकामा गाउँदै एक अर्कामा रङ दलेर होली खेल्ने परम्परा छ । ‘होली पर्व हाम्रो संस्कृतिले रंगहरुको पर्वको रुपमा मनाउछौ’ यहाँका स्थानीय ओमकार प्रसाद विष्टले भने । ‘होलीमा कृष्ण र रामलीला लोकभाकामा गाउँने र खेल्ने गरेका छौ ।’
उनले एकादशीबाट सुरु भएको होली पाँच दिनसम्म गाएर अभिनयका साथ खेल्ने गरेको बताए । उनले पछिल्लो समय सुदूरका पहाडी जिल्लाबाट बसाइसरी कञ्चनपुर पुगेपछि त्यहिको परम्परा अनुसार तराइमा पनि होली मनाउने गरेको बताए । ‘हामी दार्चुलाबाट बसाइसरेर कञ्चनपुर आइसकेपछि यहाँ पनि होली खेल्ने गरेका छौ ।” उनले भने–“मौलिक रुपमा लोकबाजाका साथमा नाचेर गाएर होली खेल्ने गरेका छौ ।’
हिन्दू संस्कृति अनुसार यसको इतिहास त्रेता युग सँग जोडिएको छ । असत्यमाथि सत्यको विजयीका रूपमा मनाइने होलीलाई हिरण्यकस्यपकी बहिनी होलिकालाई दहन गरेको खुसीयालीमा मनाइने परम्परा सुरु भएको यहाँका जानकार रामदत्त विष्टले बताए । ‘पौराणिक समयदेखी नै चलिआएको होलीलाई हामीले पनि निरन्तरता दिदै आएका छौ’ विष्टले भने ‘होलीमा भगवानको गाथा र जनचेतनामुलक सन्देश दिने होली पनि प्रस्तुत गर्ने गरेका छौ ।’ उनले पाँच दिनसम्म मनाइने पर्व भेटघाट हुने अवसर पनि बनेको बताए ।
होलीमा विशेष गरी सुदूरपश्चिमका महिला तथा पुरुषहरुले ढोलक, मादल, मिजुरा, चिम्टा आदि लोक बाँजाका साथ विभिन्न किसिमका लोक गाथाहरु अभिनयका साथ प्रस्तुत गर्ने गर्दछन । यस अवसरमा पौराणिक, धार्मिक, राजनैतिक, सामाजिक तथा प्राकृतिक गाथाहरु प्रस्तुत गर्ने गरिने जानकारहरु बताउँछन ।
वर्तमान समयमा पश्चिमा सँस्कृतिको आक्रमणमा परेर होली पर्वको मौलिकता हराउन लागेको प्रति पाकापुस्ता चिन्तित बनेका छन । ‘पछिल्लो समय होलीपर्वलाई रंग खेल्ने र डिजेहरुमा मात्रै बजाएर खेल्ने चलन आइरहेको छ यसलाई हटाउनुपर्छ’ स्थानीय केशव विष्टले भने ।
‘होली मौलिक पर्वका रुपमा मात्रै मनाउनुपर्छ ।’ होली पर्वको सबैभन्दा ठूलो दिन फागु पूर्णिमामा एकअर्काको घरमा गएर होलीको टीका लगाउँदै आशिर्वाद आदानप्रदान गर्ने गर्दछन । होलीको दिन ठूलाबाट सानाले आर्शिवाद लिने चलन छ भने घरका सम्पूर्ण परिवार मिलेर होलीलाई विशेष बनाईन्छ ।