Skip to main content

सांसदहरुलाई सरकार छाड्न नागरिक उन्मुक्तिको निर्देशन

Submitted by editor on
सरकार नछाडे पार्टी विधान बमोजिम कारवाही गर्ने अध्यक्ष रञ्जीता श्रेष्ठ चौधरीको चेतावनी
ईबिगुल संवाददाता
रेशम चौधरी र रञ्जीता श्रेष्ठ चौधरी

धनगढी : नागरिक उन्मुक्ति पार्टीले कमल बहादुर शाह नेतृत्वको सरकारलाई दिएको समर्थन फिर्ता लिन संसदीय दललाई निर्देशन दिएको छ । 
पार्टी अध्यक्ष रञ्जीता श्रेष्ठ चौधरीले आज  नागरिक उन्मुक्ति पार्टी सुदूरपश्चिम प्रदेश सभामा, संसदीय दलका नेता घनश्याम चौधरीलाई पत्र पठाउदै, नेपाली काँग्रेस नेतृत्वको प्रदेश सरकारलाई दिएको समर्थन फिर्ता लिन निर्देशन दिएकी हुन ।

‘नागरिक उन्मुक्ति पार्टीको केन्द्रिय कमिटिको चैत १४ गते टीकापुरमा बसेको बैठकको निर्णय अनुसार पार्टीले दिएको समर्थन फिर्ता लिने निर्णय भएकाले सोही बमोजिम सरकारबाट बाहिर आउन निर्देशन गर्दछु’ अध्यक्ष रञ्जीताले शुक्रबार पठाएको पत्रमा उल्लेख छ ।

पत्रमा सरकारबाह बाहिर नआए पार्टी विधान बमोजिम कारवाहीको चेतावनी पनि दिईएको छ । ‘सरकार बाहिर नआए पार्टीको विधान आकर्षित गरिनेछ’ पत्रमा भनिएको छ । उन्मुक्तिको चैत १४ गतेको टीकापुरमा भएको निर्णयलाई काउन्टर दिदै उन्मुक्तिका दुई जना बिना विभागीय मन्त्रीहरुले विहीबार मात्रै मन्त्रालयको जिम्मेवारी सम्हालेका थिए । 

२१ जनाको केन्द्रिय कमिटिका १२ जना पदाधीकारीहरुले संघमा पनि नयाँ गठबन्धन र प्रदेशहरुमा पनि सोही गठबन्धनलाई समर्थन गर्ने निर्णय गरेको थियो । तर मन्त्री भईसकेको उन्मुक्तिका प्रदेश सभा सदस्यहरु भने पार्टीको निर्देशनको पटक पटक अवज्ञा गर्दै आएका छन ।