Skip to main content

मुख्यमन्त्री शाहले विहीबार विश्वासको मत लिने, संसद बोलाई दिन सभामुखलाई पत्राचार

Submitted by editor on
कमल बहादुर शाह

धनगढी : सुदूरपश्चिमका मुख्यमन्त्री कमल बहादुर शाहले विहीबार विश्वाको मत लिने भएका छन । विश्वासको मतका लागि संसद बोलाई दिन मुख्यमन्त्री तथा मन्त्रीपरिषदको कार्यालयले सभामुखलाई आज पत्र पठाएको छ ।

‘विहीबार विश्वासको मत लिने भनेर मुख्यमन्त्री ज्युको पत्र आएको छ । विहीबार संसद बोलाउने तयारी भईरहेको छ’ सभामुख भीम बहादुर भण्डारीले भने । नेकपा माओवादी केन्द्र र समाजवादीले समर्थन फिर्ता लिएपछि मुख्यमन्त्री शाह फागुनको २३ गते देखि अल्पमतमा परेका थिए । १८ प्रदेश सभा सदस्य रहेको काँग्रेसलाई नागरिक उन्मुक्तिका ७ जना र एक जना स्वतन्त्र गरी २६ जनाको समर्थन कायमै छ । ५३ प्रदेश सभा सदस्य रहेको सुदूरपश्चिममा उनलाई बहुमतका लागि २७ प्रदेश सभा सदस्यको संख्या पुग्नुपर्छ ।

नागरिक उन्मुक्तिभीत्र मुख्यमन्त्री शाहलाई विश्वासको मत दिने र नदिने भन्दै मतविभाजन देखिएको छ । मुख्यमन्त्री शाहले आज काठमाण्डौंमा उन्मुक्तिका अध्यक्ष रञ्जीता श्रेष्ठ चौधरी र संरक्षक रेशमलाल चौधरीसँग भेटघाट गर्ने तयारी गरेका छन । 

नागरिक उन्मुक्तिका ७ जनाले उनलाई समर्थन गर्ने निर्णय ग¥यो भने राप्रपा र स्वतन्त्रले पनि मुख्यमन्त्री शाहलाई समर्थन गर्न सक्ने सम्भावना देखिएको छ । तर नागरिक उन्मुक्तिका एक जना प्रदेश सभा सदस्य पनि अनुपस्थित भएमा शाहको बहुमत पुग्दैन ।

सुदूरपश्चिम प्रदेश सभामा काँग्रेसका १८ (एकजनाको निधन), माओवादीका सभामुख सहित ११, नेकपा एमालेका उपसभामुख सहित १०, नागरिक उन्मुक्तिका ७, समाजवादीका ४, राप्रपा १ र स्वतन्त्र १ गरी ५२ प्रदेश सभा सदस्य छन । नागरिक उन्मुक्तिभीत्र सरकारमा जाने र नजाने दुई गुट देखिएपछि प्रदेश सरकार कसले बनाउने भन्नेमा टुंगो भने छैन ।