Skip to main content

सहायता सामाग्री दिनका लागि धनगढी उपमहानगर अपांगता भएका ब्यक्ति खोज्दै

Submitted by editor on
शिवराज भट्ट
अपांगता भएका ब्यक्ति

धनगढी : अपांगता भएका ब्यक्तिलाई सहायता सामाग्री दिनका लागि धनगढी उपमहानगरपालिकाले ‘स्क्रीनिङ’ (अपांगता भएका ब्यक्ति छान्ने) कार्य सुरु गरेको छ । 

धनगढी उपमहानगरपालिकाका वडा नम्बर १४, १८ र १९ का जनतालाई लक्षित गरेर फूलबारी स्वास्थ्य चौकीमा स्क्रीनिङ क्याम्प राखिएको छ । उक्त शिविरमा तीन वडाका ५५ जना अपांगता भएका ब्यक्तिहरुले सहायता सामाग्री पाउनेछन ।

उपमहानगरपालिकाले बैशाख १२ गतेसम्म थप चार ठाउँमा स्क्रीनिङ क्याम्प लगाउने जनाएको छ । शिविरमा अपांगता भएका ब्यक्तिको किसिम र आवश्यक पर्ने सहायता सामग्रीको पहिचान तथा नापजाँच गरिन्छ । त्यसपछि त्यो सामाग्री बनाएर अपांगता भएका ब्यक्तिलाई दिईने गरिन्छ । यसअघि अपांगता भएका ब्यक्तिका लागि बिनियोजन भएको बजेट अपांगता भएको क्षेत्रमा काम गर्ने गैरसरकारी संस्थाहरुलाई दिईने र वास्तविक अपांगता भएका ब्यक्तिले सहायता सामाग्री नपाउने समस्या थियो । 

मेयर गोपाल हमालले भने गतवर्ष देखि नै अपांगता भएका ब्यक्तिको तथ्यांक संकलन गरेर उनीहरुकाले आवश्यता अनुसार ह्विलचेयर, बैशाखी, नक्कली हात खुुट्टा सम्मका सहायता सामाग्री वितरण गर्दै आएक छन । 

यो वर्ष धनगढी उपमहानगरपालिकाले सर्वाङ्गीण अपाङ्गता विकास समाजसँगको साझेदारीमा स्क्रीनिङ शिविरहरु गरिरहेको छ । गत वर्ष पनि धनगढी उपमहानगर क्षेत्रका १७९ जना अपांगता भएका व्यक्तिलाई २०५ किसिमका सहायता सामग्री निःशुल्क वितरण गरिएको महिला विकास अधिकृत पंकजा जोशीले बताइन । 

‘गतवर्ष  उपमहानगरले १७९ जना अपांगता भएका ब्यक्तिलाई ३२ लाख मूल्य पर्ने २०५ किसिमका सहायता सामग्री वितरण गरेको थियो’ जोशीले भनिन । ‘योवर्ष पनि ५ ठाउँमा स्क्रीनिङ क्याम्प राखेर छान्ने काम भईरहेको छ ।’

उपमहानगरले चैत २९ गते वडा नम्बर १५, १६ र १७ का सेवाग्राही लक्षित गर्दै उर्मा स्वास्थ्य केन्द्रमा, बैशाख ९ गते वडा नम्बर ९, १० र १२ का सेवाग्राही लक्षित गर्दै घुइयाँघाट स्वास्थ्य चौकीमा, बैशाख १० गते वडा नम्बर ६, ११ र १३ का लागि घोडसुवा स्वास्थ्य चौकीमा स्क्रीनिङ क्याम्प राखिएको जनाएको छ । 

यस्तै धनगढी बजार क्षेत्रका लागि बैशाख १२ गते नगरपालिका परिसरमा क्याम्प लाग्ने महिला विकास अधिकृत जोशीले बताइन । यो वर्षको वार्षिक कार्यक्रममा अपांगता भएका ब्यक्तिका लागि सहायता सामाग्री खरिदका लागि १८ लाख बजेट विनियोजन गरिएकोमा सर्वाङ्गीण अपाङ्गता विकास समाजले ९ लाखमा टेन्डर पाएको छ ।