Skip to main content

धनगढी उपमहानगरपालिका ६१ प्रतिसत सस्तोमा आपुर्ती गरिएका औषधीको गुणस्तर जाँच गर्दै

Submitted by editor on
३८ लाख मूल्यका औषधी १६ लाख र ३३ लाख मुल्यका औषधी ८ लाखमा आपुर्ती गर्ने भनिएपछि उपमहानगपालिकालाई गुणस्तरमा आशंका लागेको हो ।
ईबिगुल संवाददाता
औषधीको गुणस्तर जाँच

धनगढी : टेन्डर आह्वान गरेर खरिद गरिएको औषधी आधा भन्दापनि कम मुल्यमा दिन थालिएपछि धनगढी उपमहानगरपालिकाले त्यो औषधीको गुणस्तर जाँच गरेर मात्रै विरामीहरुलाई वितरण गर्ने भएको छ । 

धनगढी उपमहानगरपालिकाले चैत १ गते टेन्डर मार्फत ६१ प्रतिसत कम मूल्य हालेर आपुर्ती गरिएका २६ प्रकारका औषधीको नमूना संकलन गरेर राष्ट्रिय औषधी प्रयोगशालामा पठाएको छ । त्यसको एक हप्ताभीत्र गुणस्तर जाँचको रिपोर्ट आउनेछ ।

‘कोटेशनबाट औषधी किन्दा महंगो पर्न थालेपछि हामीले २०७९ साल देखि नै टेन्डर आह्वान गरेर औषधी गरिद गर्न थाल्यौं । तर त्यसमा ६१ प्रतिसत कम मूल्यमा औषधीको टेन्डर पर्न थाल्यो । अनी उपमहानगरले त्यसको गुणस्तर जाँच गर्ने निर्णय गरेको हो’ मेयर गोपाल हमालले भने । उनले बजारको दरभन्दा ६१ प्रतिसत सस्तोमा दिएको औषधीको गुणस्तर जाँच गरेर मात्रै खरिद गरिएको औषधी विरामीलाई वितरण गर्ने बताए । 

धनगढी उपमहानगरपालिकाले चालु आर्थिक वर्षको सुरूमा आह्वान गरेको औषधी खरिदको टेन्डरमा सप्लायर्सले ५८ प्रतिशत घटीमा टेन्डर हालेका थिए । उपमहानगरपालिकाले आर्थिक वर्षको सुरूमा ३८ लाखको औषधी खरिद गर्न खोलेको टेण्डरमा १६ लाखमा टेन्डर परेको थियो ।

‘औषधी जस्तो मानव स्वास्थ्यसँग जोडिएको बस्तुमा कतै फर्मुला घटाएर त सप्लाई भईरहेको छैन भनेर परिक्षणका लागि यस्तो गरेका हौ’ मेयर हमालले भने । ‘हामीले गुणस्तरको रिपोर्ट आएपछि मात्रै औषधी सप्लायरको भुक्तानी दिने पनि निर्णय गरेका छौं ।’

धनगढी उपमहानगरपालिकाले २०८० को माघमा दोस्रो पटक खोलेको औषधि खरिदको टेण्डरमा सप्लायर्सले ६१ प्रतिशत कममा टेण्डर हालेको थियो । उपमहानगरले खोलेको ३३ लाखको टेन्डरमा सप्लायर्सले ८ लाख ९१ हजारमा औषधी उपलब्ध गराउने भन्दै टेन्डर हालेका थिए । उक्त टेन्डर नेपालगन्जको सिर्जना मेडिसिन सप्लायर्सलाई परेको थियो ।

‘औषधीको नमुना संकलन गरेर स्पेसिफिकेसन अनुसार गुणस्तर भए÷नभएको पहिचान गर्न राष्ट्रिय औषधी प्रयोगशालामा औषधीको नमुना पठाएका छौं, एक हप्तामा रिपोर्ट आउने खबर आएको छ’ उपमहानगरका स्वास्थ्य शाखा प्रमुख योगेश अवस्थीले भने । 

उपमहानगरले स्वास्थ केन्द्र तथा विशेषज्ञ वडा क्लिनिकमा निशुल्क औषधी वितरण गर्दै आएको छ । धनगढीका हरेक वडामा महिनाको एक दिन विषेशज्ञ चितिक्सक सहितको निशुल्क वडा क्लिनिक सञ्चालन हुदै आएको छ । 

उपमहानगरपालिकाले गुणस्तर परीक्षणमा नराम्रो रिपोर्ट आएको औषधी जफत गरिने, भुक्तानी नदिने र सम्बन्धित निकायमा कारवाही सिफारिस गर्ने योजना बनाएको छ । यसअघि धनगढी उपमहानगरपालिकाले ‘उज्यालो धनगढी’ कार्यक्रमका लागि खरिद गरेका एलईडी बल्ब पनि गुणस्तरहीन जडान भएको फेला पारेपछि औषधीको पनि परिक्षण गर्ने योजना बनाएको हो ।