महेन्द्रनगर : बुधबार बिहानै ६ बजे कञ्चनपुरको शुक्लाफाँटा नगरपालिका–११ कलुवापुरका ७२ वर्षीया भवानी दत्त अवस्थी श्रीमती देवासंगै जिल्ला प्रशासन कार्यालय कञ्चचनपुर पुगे । राष्ट्रिय परिचयपत्रका लागि नाम दर्ता गर्न दिनभर लाइन बस्दा पनि उनको पालो आएन ।
घरबाट बिहानै ५ बजे ६१ वर्षीया श्रीमती देवा अवस्थीसंगै राष्ट्रिय परिचयपत्र बनाउन प्रशासन कार्यालय हिडेका उनी दिनभर भोकभोकै लाइनमा बस्नुपर्दा निकै थकित देखिन्थ्ये । वृद्धभत्ताका लागि राष्ट्रिय परिचयपत्र नभइनहुने भएपछि दुबै बुढाबुढी परिचयपत्र बनाउन दोस्रो दिन प्रशासन कार्यालय पुगेको उनले सुनाए ।
‘परिचयपत्रका लागि निकै दुःख रहेछ, घरबाट बिहानै ५ बजे बुढाबुढी आएका हौ, अहिलेसम्म पालो आएको छैन’ उनले निराश हुदै भने । ‘हामी बाहिर केहि खादैनौ, भोकै दिनभर लाइनमा बस्नु परेको छ ।’
बुढापाकाहरु र अपाङ्गता भएका नागरिकहरु जिल्ला प्रशासन कार्यालयको सेवाग्राही कक्ष बाहिर कोहि भुइकै सुतेका देखिन्थे भने कोहि बेन्चमै निदाएका थिए । प्रचण्ड गर्मीको कुनै प्रवाह नगरि अधिकांश वृद्धवृद्धाहरु आफन्तसंगै परिचयपत्र बनाउन पालो कुरेर बसेका देखिन्थे ।
देशभरीमा २८ जिल्लामा सामाजिक सुरक्षा भत्ताका लागि सरकारले राष्ट्रिय परिचयपत्र अनिवार्य गरेपछि जिल्ला प्रसाशन कार्यालय कञ्चनपुरमा परिचयपत्र बनाउनेहरुको भीड बढेको हो । बेदकोट नगरपालिका–७ की हिरुली देवी भट्टले दुई दिन पालो कुरेपनि राष्ट्रिय परिचयपत्र बनाउन नसकेको गुनासो गरिन ।
‘मंगलवार दिनभर लाइनबस्दा पनि हाम्रो पालो आएन त्यसदिन रित्तोहात घर फर्कियौ’ भट्टले भनिन । ‘बुधबार पनि तीन बजेसम्म पालो आएको छैन फाराम भित्र दिएका छौ ।’ बुधबार बिहानै ६ बजेदेखि आएर गेटमा लाइन बसेको उनले बताइन । ‘यस्तो गर्मीमा पाउनु दुःख पाइयो, हाम्रो दुःख कसले देख्छ र’ उनले भनिन । ‘टन्टलापुर घामले टाउको दुखिसक्यो बिहानैदेखि भोक भोकै छु ।’
भीमदत्त नगरपालिका–९ का कृपा धामीले दुईदिन पालो कुरेपछि फोटो खिच्न पाएको सुनाए । ‘हिजो बिहान ६ बजेदेखी लाइन बसेको थिए, पालो आएन’ धामीले भने । ‘आज पनि ६ बजे आएको हुँ, बल्ल तीन बजे फोटो खिच्न पाए अब त केही हुन्छ की ।’ उनले राष्ट्रिय परिचयपत्र बनाउन आउँदा निकै सास्ती खेप्नु परेको बताए ।
दिनभर चर्को गर्मीमा भोकभोकै बस्दा वृद्धवृद्धाहरु विरामी पर्न थालेका छन । शुक्लाफाँटा नगरपालिका–७ का ७३ वर्षीया भुरी भट्ट पनि नाती विरेन्द्र भट्टका साथ बिहानै ७ बजे जिल्ला प्रशासन कार्यालय पुगिन । दिउँसो तीन बजेसम्म पनि पालो नआएपछि उनी आज परिचयपत्र नबन्ने होकि भन्ने चिन्तामा थिइन ।
‘त्यत्रो टाढाबाट आएका छौ, आज अहिलेसम्म पालो आएको छैन फेरि भोली आउनुपर्ने होकि’ उनले चिन्तित हुदै भनिन । ‘सरकारले टाढा घर भएकाहरुलाई केहि व्यवस्था गरिदिएको भए हुने ।’ उनले पहिला वडा कार्यालयमा परिचयपत्र बनाउदा थाहा नपाएको बताए ।
‘वडामा परिचय पत्र बनाउँदा सजिलो हुन्थ्यो त्यतिबेला मलाइ कसैले केहि भनेनन’ उनले गुनासो गर्दै भनिन । ‘अहिले यो भएन भने भत्ता आउँदैन भन्छन मैले दुःख पाउनु रैछ ।’ उनले वृद्धवृद्धाहरुका लागि सरकारले वडा कार्यालयमै परिचयपत्र बनाउने व्यवस्था गर्नुपर्ने बताइन ।
उनका सहयोगी विरेन्द्रले समयमै सरकारले सुचना नगरिदिदा अहिले प्रचण्ड गर्मीमा बुढापाकाहरुले दुःख पाएको बताए । ‘सुरुमै सरकारले परिचयपत्र बिना भत्ता पाउदैन भनेको भए अहिले यत्रो भीड हुने थिएन’ उनले भने । ‘अहिले वृद्धवृद्धाहरुले दुःख पाउनु परेको छ ।’ उनले सहज रूपमा सेवा पाउने वातावरण बनाउनु पर्ने बताए । ‘सरकारले जनतालाई कसरी हुन्छ सहज रूपमा सेवा दिनुपर्छ यसरी दुःख दिएर भएन’ उनले भने ।
राष्ट्रिय परिचयपत्र बनाउन जिल्ला प्रशासन कार्यालयमा सेवाग्राहीको घुइँचो छ । परिचयपत्र बनाउन ज्येष्ठ नागरिक बिहान ६ बजेदेखीे नै जिल्ला प्रशासनमा लाइन लाग्न आइपुग्ने गरेका छन । मंगलवारदेखी प्रशासनले ७ बजेदेखी नै सेवा दिने भएपछि सेवाग्राहीहरु लाइनमा बस्न सहान ६ बजे नै जिल्ला प्रशासन कार्यालय पुग्ने गरेका छन ।
राष्ट्रिय परिचयपत्र बनाउने सेवाग्राहीको चाप बढेपछि जिल्ला प्रशासन कार्यालय कैलाली र कञ्चनपुरले आइतबार देखी बिहिबारसम्म बिहान सात बजेदेखी बेलुका सात बजेसम्म सेवा दिन थालेको छ ।
शुक्रवार बिहान ८ बजेदेखी ४ बजेसम्म सेवा सुचारु गरेको छ । स्थानीय तहहरुले पनि सामाजिक सुरक्षा भत्ता लिन राष्ट्रिय परिचयपत्र अनिवार्य भएको हुँदा राष्ट्रिय परिचयपत्रको फारम भर्न अनुरोध गरेका छन ।
जिल्लाका स्थानीय तहले सूचना प्रकाशित गरी आगामी साउन १ गतेबाट सामाजिक सुरक्षा भत्ता पाउने नयाँ लाभग्राही तथा भत्ताको नवीकरण गर्ने लाभग्राहीले राष्ट्रिय परिचयपत्र अनिवार्य भएको हुँदा राष्ट्रिय परिचयपत्र बनाउन बाँकी रहेका लाभग्राहीले राष्ट्रिय परिचयपत्रको फारम भर्न अनुरोध गरेको छ ।