Skip to main content

मुख्यमन्त्री कमल बहादुर शाहले आज ३ बजेको सदनमा विश्वासको मत लिने

Submitted by editor on
ईबिगुल संवाददाता
मुख्यमन्त्री कमल बहादुर शाहले आज ३ बजेको सदनमा विश्वासको मत लिने

धनगढी : सुदूरपश्चिमका मुख्यमन्त्री कमलबहादुर शाहले बिहीबार विश्वासको मत लिने भएका छन । प्रदेशसभा सचिवालयले बिहीबार ३ बजेका लागि संसद बोलाएको छ । बिहीबार मुख्यमन्त्री शाहका लागि विश्वासको मत लिने अन्तिम दिन हो ।

नेकपा माओवादी केन्द्र र समाजवादीले फागुन २३ गते समर्थन फिर्ता लिएपछि मुख्यमन्त्री शाह अल्पमतमा परेका थिए । एक महिनासम्म नागरिक उन्मुक्तिबाट विश्वासको मत पाउने आशामा रहेका मुख्यमन्त्री शाहले अब भने विश्वासको मत पाउने सम्भावना क्षीण भएको छ ।

उनको नेतृत्वको सरकार जोगाउनका लागि नागरिक उन्मुक्तिका ७ जना प्रदेशसभा सदस्य निर्यायक हुन् । तीमध्ये ५ जनालाई उनले मन्त्री बनाए पनि, २ जनाले भने मत नदिने संकेत गरेका छन् । ५ जना मध्ये पनि रेशम पक्षकी भनिएकी भूमि व्यवस्था कृषि तथा सहकारी राज्यमन्त्री ईन्द्रा गिरिलाई अध्यक्ष रञ्जीता श्रेष्ठ चौधरीले बुधबार कारबाही गरेपछि रेशमको पक्षमा ४ जना मात्रै प्रदेशसभा सदस्य बचेका छन् । 

‘प्रदेशसभा सदस्य गिरिलाई कारबाही गरिएको पत्र प्रदेश सभा सचिवालयमा दर्ता भएको छ’, सभामुख भीमबहादुर भण्डारीले भने । भण्डारी नेकपा माओवादी केन्द्रबाट सभामुख भएका हुन् । गठबन्धनलाई सहज पार्न उनले गिरिको प्रदेशसभा सदस्य खाली भएको सूचना बिहीबारकै सदनमा सुनाउने सम्भावना छ ।

संवैधानिक प्रावधान अनुसार कुनै पनि सदस्यलाई हटाउन परे त्यसको जानकारी सदन चलेको भए सदनलाई र नचलेको भए सूचना टाँस गर्नुपर्छ । विश्वासको मत लिनुभन्दा अगावै गिरिलाई हटाइएको जानकारी आउने सम्भावना रहेको स्रोतले बतायो । शाहको नेतत्वको सरकारमा भूमि व्यवस्था कृषि तथा सहकारी मन्त्री बनेकी उनलाई पार्टी अध्यक्ष रञ्जीता श्रेष्ठ चौधरीले कारबाही गरेकी हुन । उनको कारबाहीको पत्र सुदूरपश्चिम प्रदेशसभामा बुधबार नै दर्ता भइसकेको छ ।