धनगढी : कैलालीमा दुई लाख १३ हजार नगदसहित जुवातास खेलिरहेका आठ जना पक्राउ परेका छन् । बुधबार साढे ११ बजेको समयमा गौरीगंगा नगरपालिका–८ को मसुरिया बजारमा रहेको चाईनिज कर्नर सेन्टरमा जुवातास खेलिरहेको अवस्थामा उनीहरुलाई पक्राउ गरिएको प्रहरीले जनाएको छ ।
पक्राउ पर्नेमा कर्नर सञ्चालक गौरीगंगा नगरपालिका–७ बस्ने ३० वर्षीय टेक मन्नीसहितका व्यक्तिहरु छन् । जुवातास खेलिरहेको भन्ने गोप्य सूचनाको आधारमा खानतलासी उनीहरुलाई दुई लाख १३ हजार २७० रुपैयाँ र साढे चार हजार भारतीय रुपैयाँसहित पक्राउ गरिएको हो । उनीहरुको साथबाट ४ गड्डी तास र ९ थान मोबाईल पनि बरामद गरिएको छ । जिल्ला प्रहरी कार्यालय कैलाली र इलाका प्रहरी कार्यालय मसुरियाको संयुक्त टोलीले जुवाखालमा छापा हानेको थियो । पक्राउ परेका सबैलाई नियन्त्रणमा राखेर थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।