Skip to main content

अपराध र लागुऔषध नियन्त्रणमा कुनै पनि व्यक्ति वा नेताको मुख नहेरी अनुसन्धान गर्न मुख्यमन्त्री शाहको निर्देशन

Submitted by editor on
ईबिगुल संवाददाता
मुख्यमन्त्री कमलबहादुर शाह

धनगढी : सुदूरपश्चिम प्रदेशका मुख्यमन्त्री कमलबहादुर शाहले अपराध नियन्त्रणमा कुनै पनि व्यक्ति वा नेताको मुख नहेरी अनुसन्धान गर्न सुरक्षा निकायका प्रमुखलाई निर्देशन दिएका छन् ।  

बुधबार जिल्ला समन्वय समितिले धनगढीमा आयोजना गरेको आर्थिक वर्ष २०८१/०८२ को वार्षिक प्रगति समिक्षा एवं स्थानीय तहको असल अभ्यास सम्बन्धि अनुभव आदन–प्रदान कार्यक्रमको समुद्घाटन गर्दै उनले सो कुरा बताएका हुन ।

कैलालीका प्रमुख जिल्ला अधिकारी र सुरक्षा निकायका प्रमुख उपस्थित कार्यक्रममा उनले लागु औषध तथा अपराधीक गतिविधि सह्यय नहुने बताए । उनले भने “कुनै किसिमको अपराध सह्यय हुने छैन, कुनै किसिमको गुण्डागिरी सह्यय हुने छैन । अपराध र लागु औषध नियन्त्रणमा हामी सबै जनप्रतिनिधिहरूले सहयोग गर्नुपर्छ, हामीले त्यो वातावरण निर्माण गरेका छौ, अझै प्रभावकारी बनाउन जरुरी छ ।”

उनले लागु औषध नियन्त्रणका लागि ड्रग डिलरको पहिचान गर्न जनस्तरबाटै महत्त्वपूर्ण भूमिका निर्वाह गर्न आवश्यक रहेको बताए । धेरै किसिमका सफल अभ्यास र सुधारका प्रयास र प्रयत्नहरू गर्दा गर्दै साना तिना अवरोधहरू आउने स्थिती भए पनि जनतालाई डेलिभरी दिने कुरामा ढुलासुस्ति गर्नु नहुनेमा मुख्यमन्त्री शाहको जोड थियो ।

“संविधान अनुसार निर्माण गरिएका ऐन नियम सबैले मान्नुपर्दछ,” मुख्यमन्त्री शाहले भने, हामी कसैको अधिकार खोस्न वा कसैलाई खुसी र कसैलाई दुःखी बनाउन खोजेको नभई प्रदेश निजामति ऐन र स्थानिय सेवा सञ्चालन सम्बन्धि ऐनलाई कार्यान्वयन र व्यवस्थित गर्नन खोजेको हो ।”

प्रदेश सरकारले प्रदेश निजामति ऐन र स्थानीय सेवा सञ्चालन सम्बन्धि जारी गरेकै कारण कर्मचारीहरूको वृत्ति विकास भएको बताउँदै मुख्यमन्त्री शाहले ऐन निर्माणका क्रममा आएका समस्याहरू कर्मचारी नेतृत्वसँगको संवादबाट समाधान गरेको बताए । उनले ऐनमा केही समस्या भए प्रदेश सरकार संशोधनका तयार रहेको समेत उल्लेख गरे ।