Skip to main content

नागरिक उन्मुक्तिमा वारपारको लडाई, रञ्जीता र खुसीरामका अलग–अलग ह्वीप

Submitted by editor on
शिवराज भट्ट
नागरिक उन्मुक्तिमा वारपारको लडाई, रञ्जीता र खुसीरामका अलग–अलग ह्वीप

धनगढी : नागरिक उन्मुक्ति पार्टीभीत्र वारपारको लडाई सुरु भएको छ । विहीबार मुख्यमन्त्री कमल बहादुर शाहले विश्वासको मत लिने भएकाले पार्टी अध्यक्ष रञ्जीता श्रेष्ठ चौधरी र प्रमुख सचेतक खुसीराम डगौरा थारुका फरक –फरक ह्वीप जारी भएका छन । 

पार्टी अध्यक्ष रञ्जीता श्रेष्ठ चौधरीले आफ्ना सांसदहरुलाई मतदान नगर्न निर्देशन दिएकी छन् । उनले लिखित रुपमै विहीबार मुख्यमन्त्री शाहले लिने विश्वासको मतको विपक्षमा मतदान गर्न सांसदहरुलाइ निर्देशन दिएकी छन । 

‘नागरिक उन्मुक्ति पार्टी, सुदूरपश्चिम प्रदेश संसदीय दलको विधान केन्द्रिय कमिटीबाट पास नभएको हुँदा दैनिक सभा सञ्चालन लगायतका कार्यक्रम माननीय श्री घनश्याम चौधरीले संसदीय दलको नेताको रुपमा कामकाज गरेपनि प्रदेश सभाको महत्वपूर्ण निर्णयमा ह्वीप लगाउने अधिकार पार्टीको केन्द्रिय अध्यक्षलाइ नै भएकाले मुख्यमन्त्री शाहलाई विश्वासको मत नदिनु’ पार्टी अध्यक्ष रञ्जीता श्रेष्ठ चौधरीले जारी गरिएको ह्वीपपत्रमा भनिएको छ ।

तर त्यसको लगत्तै प्रमुख सचेतक खुसीराम डँगौरा थारुले पनि अर्को ह्वीप जारी गर्दै मख्यमन्त्री कमल बहादुर शाहको विश्वासको मतको पक्षमा मतदान गर्न निर्देशन गरेका छन ।

‘मिति २०८० चैत २२ गते दिउसो ३ बजे बस्ने प्रदेश सभा बैठकमा माननीय कमल बहादुर शाह ज्युले आफुमाथि प्रदेश सभाको विश्वास छ भन्ने प्रस्तावको पक्षमा मतदान गर्नका लागि अनिवार्य उपस्थित हुन, अनिवार्य मतदान गर्न र तटस्थ नरहन राजनीतिक दल सम्बन्धी ऐन, २०७३ को दफा २८ बमोजिम निर्देशन (ह्वीप) जारी गरिन्छ’ प्रमुख सचेतक खुसीराम डँगौरा थारुले जारी गरेको ह्वीपमा उल्लेख छ ।

नेकपा माओवादी केन्द्र र एकीकृत समाजवादीले सुदूरपश्चिम प्रदेश सरकारलाई दिएको समर्थन फिर्ता लिएपछि नेपाली काँग्रेसको तर्फबाट मुख्यमन्त्री बनेका कमलबहादुर शाह फागुनको २३ गते देखि अल्पमतमा छन् । ५३ सदस्यीय प्रदेश सभामा एकजनाको निधन भएकाले ५२ सदस्य छन । जसमा काँग्रेसका १८, नेकपा माओवादी केन्द्रका सभामुख सहित ११, नेकपा एमालेका उपसभामुख सहित १०, नाउपाका ७ (बुधबार एकजना कारवाही), समाजवादीका ४, राप्रपा १ र स्वतन्त्र १ जना प्रदेश सभा सदस्य छन ।