Skip to main content

कैलालीको मालाखेतीमा नाबालिका बलात्कार गर्ने चार जना अझै फरार

Submitted by editor on
ईबिगुल संवाददाता
करणी

धनगढी : कैलालीको अत्तरियामा एक किशोरी सामूहिक करणीको सिकार बनेकी छन् । गोदावरी नगरपालिका–३ घर भएकी किशोरी मध्यरातमा सामूहिक करणीको सिकार बनेकी हुन् । 

जबरजस्ती करणी गरेको आरोपमा गोदावरी नगरपालिका–१० का पदम थापा भने पक्राउ परेका छन । अन्य चार जना फरार रहेको इलाका प्रहरी कार्यालय मालाखेतीका प्रमुख गंगाबहादुर थापाले बताए । ‘घटनामा संलग्न मुख्य दोषी पक्राउ परिसकेका छन ।’

ती घटनामा जोडिएका चार जना फरार छन् । उनीहरु सबै उमेर पुगेकै केटाहरु भएको खुलेको छ ।’ साउन ९ गते राति गोदावरी नगरपालिका–३ की १७ वर्षीया किशोरीलाई जंगलमा लगेर करणी गरेको भन्ने उजुरी पीडित पक्षबाट आएपछि मुख्य आरोपितलाई पक्राउ गर्न सफल भएको प्रहरीले जनाएको छ । 

साउन १५ गते मुख्य आरोपी थापालाई घरबाटै पक्राउ गरिएको इलाका प्रहरी कार्यालय मालाखेतीले बताएको छ । थापाले फेसबुकमा फेक आइडी बनाएर लक्ष्मीसँग कुरा गर्दै आइरहेको खुलेको छ । परिचय लुकाएर कुरा गरिरहेका थापाले साउन ९ गते मध्यराति लक्ष्मीलाई घर बाहिर भेट्न बोलाएका थिए ।

लक्ष्मीलाई बाइकमा राखेर राति १२ बजे गोदावरी नगरपालिका–१० को मालाखेती जंगलमा पुगाएका थिए । थापाले सोही स्थानमा आफ्ना चार जना साथिहरुलाई समेत बोलाएका थिए ।

थापासहित उनका अन्य साथिहरुले मालाखेती जंगलमा लक्ष्मीलाई सामूहिक करणी गरेपछि पुनः घरमै ल्याएर छोडेको समेत खुलेको छ । लक्ष्मीले आफूमाथि सामूहिक करणी गर्ने कसैलाई पनि चिनेकी थिइनन । जबरजस्ती करणीपछि थापाले पनि फेसबुकबाट ब्लक गरेका थिए। पीडित किशोरीले उजुरी दिएपछि प्रहरीले अनुसन्धान अघि बढाएको थियो ।

प्रहरीले लक्ष्मीसँग कुराकानी गरेको फेक एकाउन्टको इमेल पहिचान गरी थापालाई पक्राउ गर्न सफल भएको डीएसपी थापाले बताए। पक्राउ परेका पदमलाई अहिले मालाखेती प्रहरीको हिरासतमा राखेर अनुसन्धान गर्ने काम भइरहेको छ ।