Skip to main content

बझाङको सदरमुकाम चैनपुरमै तीन दिनदेखि खानेपानीको हाहाकार

Submitted by editor on
खानेपानी नहुँदा सदरमुकामबासी नदीको दुषित पानी पिउन बाध्य छन । होटलहरु बन्द भएका छन भने गाउँ छोडेर डेरामा बसेकाहरु पानी किनेर खान बाध्य छन ।
प्रताप ओली
चैनपुर

बझाङ : बझाङ सदरमुकाम चैनपुर वरिपरि दुई ठूला सेती र बाहुली नदी छन । तर यही सदरमुकाम बारम्बार एउटै समस्याले सताइरहन्छ त्यो हो खानेपानी र विद्युत । यी नदी तथा खोला सदाबहादुर बगिरहे पनि यीनको उपयोग गर्नमा कसैलाई खासै चाँसो छैन । 

सदरमुकाम जस्तो ठाउँमा खानेपानी र विद्युतको समस्या निरन्तर भइरहन्छ । पाँच वर्षअघि एशियाली विकास बैंकको आर्थिक सहयोगमा नेपाल सरकारले साना शहरी खानेपानी योजना अन्तरगत सदरमुकाम चैनपुरमा खानेपानी योजना निर्माण भएको थियो । यो आयोजनाका लागि २०७६ सालमा ठेक्का भएर २०७७ मा आशिस सीएबी जेवी निर्माण सेवाले काम सम्पन्न गरेको थियो ।

जयपृथ्वी नगरपालिकाले समेत २ करोडको साझेदारी गरेको चैनपुर शाना शहरी खानेपानीमा कूल २१ करोड ७३ लाख रमक लागेको थियो । यो योजनाको भोपुरस्थित सिमभाडीमा सात लाख क्षमताका चारवटा रिजर्व ट्याङ्कीसहित नदीको पानी फिल्टर गर्ने अन्य प्रविधिसहितका पुर्वाधार बनेका छन् । तर विद्युत नहुँदा पानी नआउने समस्याले खानेपानी उपभोक्ताले बारम्बार हैरानी खेप्नुपरिरहेको छ । 

करिब ८ हजार उपभोक्ता निर्भर रहेको यस खानेपानी आयोजनामा लामो समयदेखि एकलौटी समिति कायम रहँदा पनि समस्या बल्झदै गएको चैनपुरका व्यवसायी रमेश खड्काले बताए । सेती नदीको पानी लिफ्टिङ गरेर खानेपानीमा उपयोग गरिएको बझाङमा यो पहिलो योजना हो । 
यो योजना सम्पन्न भएपछि सदरमुकामवासी खानेपानीको समस्याबाट मुक्त हुने आशामा थिए । तर बझाङको सबैभन्दा सुगम मानिएको चैनपुरमा समेत आधारभुत विकास पुर्वधारले समेत यसरी दुःख दिदा यहाँका सेवाग्राही हैरान भएका छन् । शुक्रबारदेखि खानेपानी अनियमित हुँदा यहाँका व्यापारी तथा सर्वसाधारणलाई सास्ती भएको हो । 

पछिल्लो समय चैनपुर शाना शहरी खानेपानीमा निर्भर रहेका सदरमुकाम चैनपुर र आसपासका बासिन्दा  एउटा जेनेरेटेरको व्यवस्थासम्म नगरेको भन्दै चैनपुर शाना शहरी खानेपानी उपभोक्ता समितिप्रति आक्रोसित भएका छन । पछिल्लो समय एक समयमा मात्रै पानी वितरण हुँदै आएको र दुई दिनदेखि धारामा खानेपानी नआउँदा यहाँका होटल व्यवसायी बढी मर्कामा परेका छन् । 

धारामा खानेपानी नआउँदा सदरमुकामवासी बाउली खोला र सेती नदीको फोहर पानी पिउन बाध्य छन् । केहीले निजि धारामा गएर पानी भरिरहेका छन् । धारामा पानी नआउँदा सास्ती भएको मष्टा घर भइ चैनपुरमा होटल व्यवसाय गर्दै आएका माधव जोशीले बताए । ‘होटलमा खाना, नास्ता पकाउन र आएका ग्राहकलाई हातमुख धुन, चर्पीमा प्रयोग गर्नका लागि पानी नहुँदा होटेल नै बन्द गर्नु परेको छ’ उनले भने ।

यस खानेपानीका लागि तत्काल विद्युतको बैकल्पिक समाधान हुनुपर्ने जयपृथ्वी नगरपालिका वडा नम्बर –६ का निवर्तमान वडाध्यक्ष नरेन्द्र बहादुर सिंहले बताए । ‘जिल्ला सदरमुकाममा लगातार दुई÷तीन दिनसम्म पानी नआउदा कस्तो हाहाकार भयो होला, यो चरम लापरबाही होईन ?’ सिहले भने ।

अदालत अगाडी होटेल व्यवसाय गर्दै आएका जयबहादुर सिंले पनि होटेल बन्द गरेर घर हिड्नुपर्ने अवस्था आएको बताए । सेती नदी र बाहुलीगाढ खोलाको दूषित पानी पिउँदा सदरमुकामवासी बिरामी समेत हुन थालेका छन् । आफू दुईदिनदेखि पानी आउँछ कि भनेर धारामा कुरेको तर पानी नआएपछि मिनरलवाटर प्रयोग गर्नुपरेको जयपृथ्वी नगरपालिका वडा नम्बर–२ घर भइ हाल पढाइको सिलशिलामा चैनपुरमा बस्दै आएकी जुनु महतले बताईन ।

चैनपुर शाना शहरी खानेपानी उपभोक्ता समितिका अध्यक्ष लोकेन्द्र विष्टले भने भोपुर जाने सडक मुनी बारम्बार पहिरो जाँदा पाइपमा क्षति पुगेकाले खानेपानी वितरण गर्न नसकिएको बताएका छन । पाइपलाइन मर्मतका लागि पलम्बर र विद्युत नहुँदा बैकपल्पिक व्यवस्था नगरेसम्म खानेपानी वितरणमा समस्या आइरहने देखिन्छ ।