Skip to main content

मेडिकल विश्वविद्यालयको आन्दोलन, १२ बजेसम्म सरकारी गाडी चल्न रोक

Submitted by editor on
शिवराज भट्ट
सडकमा आएका आन्दोलनकारीहरु

धनगढी  ः सोमबार प्रहरीले हस्तक्षेप गरेको विरोधमा गेटा मेडिकल विश्वविद्यालय संघर्ष समितिले निर्माण स्थल बाहिरको ६ लेन सडकमा सरकारी गाडी रोकेको छ । विहानै देखि सडकमा आएका आन्दोलनकारीहरुले सोमबार दिउसो १२ बजे सम्मका लागि सरकारी गाडीमा रोक लगाएका हुन ।


‘सरकारको ध्यान जाओस भनेर यस्तो गरिएको हो’ आन्दोलनका संयोजक लोकराज पाण्डेले भने । ‘सोमबार मेडिकल कलेजका निर्देशक सँग छलफलका लागि गएका हाम्रा साथीहरुलाई प्रहरीले पक्राउ गरि बल प्रयोग ग¥यो । हामी शान्तिपूर्ण आन्दोलन पनि गर्न नपाउने ?’ पाण्डेले सरकारी हस्तक्षेप गरे आफुहरु पनि कडा आन्दोलन गर्न बाध्य हुने बताए । 


आन्दोलनकारीहरुले सरकारी गाडी रोकेपछि विभिन्न स्थानीय तह, वडा कार्यालय, प्रदेश मन्त्रालय र मातहतका कार्यालयमा आउने कर्मचारीहरु प्रभावित भएका छन  । गेटामा मेडिकल विश्वविद्यालयको मागगर्दै सोमबार निर्माणस्थल पुगेका आन्दोलनकारीहरुलाई प्रहरीले घेरा हालेर तीन जनालाई पक्राउ गरेर पछि रिहा गरेको थियो ।


उनीहरु सोमबार गेटा मेडिकल कलेजका निर्देशक डाक्टर प्रमोदराज जोशीसँग कुराकानी गर्नका लागि निर्माणस्थलमा रहेको कार्यालय पुगेका थिए । उनीहरुले, गेटामा अस्पताल सञ्चालनको काम के भईरहेको छ ? त्यसको जानकारी लिन र अस्पताल सञ्चालनका लागि छलफल गर्न डाक्टर जोशीलाई बोलाएका थिए । तर डाक्टर जोशीले आफु असुरक्षित भएको भन्दै प्रहरी पठाएको आन्दोलनकारीको आरोप छ ।


डाक्टर जोशी यसअघि शेरबहादुर देउवा प्रधानमन्त्री भएका बेला गेटा मेडिकल कलेजका निर्देशक नियुक्त भएका थिए । उनले यसअघि एक सय शैयाको अस्पताल सञ्चालन गर्ने भन्दै उपकरण खरिदको टेन्डर समेत प्रकासित गरेका थिए । त्यसको विरोध भएपछि उनले टेन्डर रद्ध गराएका थिए । मेडिकल कलेज, प्रतिष्ठान वा विश्वविद्यालय के बन्ने कुराका टुंगो नै नलागेका बेला कमिशनका लागि उपकरण खरिद गरि ‘डम्पिङ’ गर्न खोजिएको भन्दै त्यसको विरोध भएको थियो । 


नीति तथा कार्यक्रम र  बजेट बक्तब्यमा फरक÷फरक कुरा आएको भन्दै सहिद दसरथचन्द स्वास्थ्य विज्ञान विश्वविद्यालय संघर्ष समिति एक महिना देखि आन्दोलनमा छ । संघर्ष समिति गेटामा मेडिकल विश्ववद्यालय बन्नुपर्ने भन्दै निरन्तर फरक फरक प्रकारको आन्दोलन गर्दै आएको छ । 


जेठको ५ गते राष्ट्रपति रामचन्द्र पौडेलले संयुक्त सदनमा प्रस्तुत गरेको नीति तथा कार्यक्रममा गेटमा मेडिकल विश्वविद्यालय बनाउने कुरा उल्लेख छ । तर नीति तथा कार्यक्रमको ९ दिन पछि अथवा जेठ १५ गते अर्थमन्त्री डाक्टर प्रकाश सरण मतहले प्रस्तुत गरेको बजेट बक्तब्यमा भने गेटामा सहिद दसरथ चन्द स्वास्थ्य विज्ञान प्रतिष्ठान बनाईने र एक सय शैयाको अस्पताल सञ्चालनमा ल्याउने कुरा उल्लेख भएपछि स्थानीय विरोधमा उत्रिएका हुन । गेटामा साढे ५ अर्बका संरचना बनिसकेका छन ।