Skip to main content

सामाजिक विकास मन्त्रीले गरे धनगढीभीत्रका थप १० किलोमिटर सडकबत्तीको उद्घाटन

Submitted by editor on
ईबिगुल संवाददाता
सडकबत्तीको उद्घाटन

धनगढी : उज्यालो धनगढी अभियान अन्तर्गत क्षेत्रीय शहरी विकास आयोजनाले निर्माण गरेका सडकमा सडकबत्तीको उद्घाटन गरिएको छ । सुदूरपश्चिमका सामाजिक विकास मन्त्री मेघराज खडकाले स्वीच थिचेर १० किलोमिटर नगरका सडकबत्तीको उद्घाटन गरे । 

यो पटक ५५३ पोलमा स्मार्ट सडक बत्ती र १५ वटा हाइमास्ट लाइटको मन्त्री खड्काले स्वीच थिचेर उद्घाटन गरेका हुन । कार्यक्रममा नगर प्रमुख गोपाल हमाल, उप–प्रमुख कन्दकलाकुमारी राना, वडा अध्यक्षहरू, कार्यपालिका सदस्यहरू, कर्मचारी र सर्वसाधारणको उपस्थिति रहेको थियो ।

संघीय सहरी विकास आयोजनाले सडक बत्ती जडान गरेको हो ।  कार्यक्रममा नगर उप–प्रमुख कन्दकलाकुमारी रानाले धनगढीलाई उज्यालो पार्ने काममा उपमहानगरले काम गरिरहेको बताए । उनले सबै वडामा उज्यालो कार्यक्रम पुगाउन उपमहानगरले आगामी दिनमा समेत काम गर्ने बताइन ।

कार्यक्रममा बोल्दै सामाजिक विकास मन्त्री खड्काले धनगढी उपमहानगरपालिकाले राम्रो काम गरिरहेको बताए । उनले स्थानीय सरकारले जनताका काम गर्न सके राम्रो प्रभाव पर्ने र प्रदेश सरकारले पनि जनमुखी काम गर्न उपमहानगरपालिकासँग मिलेर काम गर्ने बताए । ‘धनगढीमा सह्रानीय काम भएका छन । नगर प्रमुख इनोभेटिभ काम गर्दै आएका छन’ उनले भने । ‘नयाँ काम गर्ने नगर प्रमुख हमालको स्वभावका कारण धनगढीमा राम्रो काम हुँदै गएको र प्रदेश सरकारले पनि विभिन्न काममा सहकार्य गर्दै आएको छ, अझै पनि गर्नेछ ।’

धनगढी उपमहानगरपालिकाको ६ लेन सडक र क्याम्पस चोक–मनेहरा सडक खण्डको जनआवाज चोकसम्म स्मार्ट सडक बत्ती बालिएको छ । अहिले सहरी विकास आयोजनाले निर्माण गरेका सडकहरूमा स्मार्ट सडक बत्ती जडान गरिएको हो ।