Skip to main content

पास भयो सुदूरपश्चिमको बजेट, सकियो बजेट सुन्यताको अवस्था

Submitted by editor on
ईबिगुल संवाददाता
सुदूरपश्चिम प्रदेश सरकारको बजेट

धनगढी : सत्तापक्षकै अधिकांस सांसदहरुको चर्को असन्तुष्टिका बावजुद सुदूरपश्चिम प्रदेश सरकारको बजेट पारित भएको छ । आर्थिक मामिलामन्त्री बहादुर सिह थापाले भदौ ३१ गते संसदमा बजेट प्रस्तुत गरेका  थिए । 

बजेट २ दिनको छलफलमै पारित गरिएको हो । पहिलो दिनको छलफलमा भाग लिएका सत्ता पक्षकै सांसदहरुले चरम असन्तुष्टि ब्यक्त गरेका थिए । एमालेका सांसद चक्र बहादुर मल्लले त मन्त्रीको खुट्टा छँदा समेत बजेट नपरेको भन्दै आक्रोस पोखेका थिए भने राप्रपाकी सांसद खीमादेबी विष्टले सरकार र जनप्रतिनिधीहरुलाई चोर समेत भन्न भ्याएकी थिईन ।

नेपाली काँग्रेसका प्रमुख सचेतक विक्रम सिह धामीले आफ्नै  पार्टीका नेतृत्वको सरकार र आफ्नै पार्टीका आर्थिक मामिला मन्त्री भएर पनि बजेटमा सन्तुलन नभएको गुनासो गरेका थिए । उनले बजेट नपरेका कारण दार्चुलामा आफुलाई पार्टीले प्रतिबन्ध लगाएको बताएका थिए ।
एमालेकी सांसद जानकी ऐर बमले मुख्यमन्त्रीले मिठो गरि बोलेका कुरा लागु नगरेको आरोप लगाएकी थिईन । नागरिक उन्मुक्ति पार्टीका प्रमुख सचेतक समेत रहेका खुसीराम डँगौरा थारुले बजेट परिमार्जनको माग गरेका थिए ।

नेकपा माओवादी केन्द्रका प्रदेश सभा सदस्य अक्कल रावल, शिवसिह ओलीले बजेटको विरोध गरेका थिए । प्रतिपक्षी दल एकीकृत समाजवादी पार्टी संसदीय दलका नेता तथा निवर्तमान मुख्यमन्त्री दीर्घबहादुर सोडारीले एउटै आर्थिक वर्षमा दुई चोटी बजेट पेस गर्ने कार्य असंबैधानिक भएको बताए ।  एकीकृत समाजवादीका प्रदेश सभा सदस्य प्रकाश बहादुर रावलले बाहिर सस्तो लोकपृयताका लागि ४ बुदे र २५ बुदेको नारा लगाएको सरकारले व्यवहार ठिक उल्टो गरेको बताए । सत्तारुढ नेपाली काँग्रेसका प्रदेश सभा सदस्य  डम्मरी महराले सत्तामा जो सुकै आए पनि एउटै प्रवृत्ति देखिएको  र बजेट उपलब्धीमुलक हुने बताए ।