धनगढी: कैलालीस्थित धनगढीको मुख्य सडक कालोपत्र थालिएको छ । मुख्य सडकको सेती प्रादेशिक अस्पताल क्षेत्रमा पहिलो लेयरको काम थालिएको हो ।
सुदूरपश्चिमको भौतिक पूर्वाधार विकास मन्त्रालय, पूर्वाधार विकास कार्यालय, धनगढीमार्फत ठेक्का सम्झौता भएको सडकको पहिलो लेयरको काम सुरु भएको हो । निर्माण कम्पनीले क्याम्पस रोड क्षेत्रमा पहिलो लेयर कालोपत्रको काम गरेको थियो । चिसो काम हुँदै गएपछि अस्पताल क्षेत्रमा समेत कालोपत्रको काम थालिएको हो । केएस कन्स्ट्रक्सनले सडक कालोपत्रको काम गर्दै छ ।
धनगढीको कैलाली पुलदेखि क्याम्पस रोड, हुलाकी राजमार्गसम्म फागुन महिना भित्र पहिलो लेयरको काम पूरा हुने पूर्वाधार विकास कार्यालयले जनाएको छ । २०८० वैशाख २७ गते २४ महिना भित्र सडक निर्माणको काम पूरा गर्ने सम्झौता भएको थियो । निर्माण कम्पनीले २०८२ वैशाख २६ गते भित्र धनगढीको मुख्य सडक स्तरीय निर्माण गर्दै प्रदेश सरकारलाई हस्तान्तरण गर्ने समय रहेको छ ।
तर, निर्माण कम्पनीले फागुन महिना भित्र पहिलो लेयरको काम पूरा गर्ने र दोस्रो लेयरको कामसमेत चाँडै सुरुवात हुने पूर्वाधार कार्यालय कैलालीका निमिक्त प्रमुख रामचन्द्र खत्रीले बताए । उनले भने, ‘पहिलो लेयरको काम हो। दोस्रो लेयको बाँकी छ । पहिलो लेयरको काम फागुनमा सकिन्छ । दोस्रो लेयरको चैत महिना भित्र सकिन्छ । अन्य काम बाँकी रहन्छ होला ।’ धनगढीको मुख्य सडक निर्माणको काम सम्झौताको समय सीमा भन्दा अगाडि पूरा हुने देखिएको हो ।
धनगढीको मुख्य सडक निर्माणका लागि ५१ करोड ६९ लाखमा केएस कन्स्ट्रक्सनसँग ठेक्का सम्झौता भएको थियो । केएस कन्स्ट्रक्सनले सडक निर्माणको काम अन्तिम चरणमा पुगाएको हो ।
धनगढी उपमहानगरपालिकाले मुख्य सडक चौडाईका लागि १५ मिटर दायाँ र १५ मिटर बायाँका भौतिक संरचना खाली गरेको थियो । उपमहानगरपालिकाको आग्रहमा चार सय २८ भौतिक संरचना खाली गरिएका थिए ।
धनगढीको ट्राफिक जामको समस्या समाधानका लागि उपमहानगरले फराकिलो र स्तरीय सडक निर्माण हुँदैछ । धनगढी चौराहदेखि कैलाली पुलसम्मको मुख्य सडक क्षेत्रीय सहरी विकासमार्फत कालोपत्र भएको छ । कैलाली पुलदेखि हुलाकी राजमार्गसम्म प्रदेश सरकारका बजेटमा स्तरीय सडक निर्माणको काम अन्तिम चरणमा पुगेको हो । पूर्वाधार कार्यालय, धनगढीका प्रमुख खत्रीले फुटपाथ लगायतको काम बाँकी रहेपनि कालोपत्रको काम चैत महिना भित्र पूरा हुने बताएका हुन । २०८२ वैशाख २६ गतेसम्म सडक निर्माणको समय रहेको छ ।