Skip to main content

२० वर्ष विवाहको उमेर राख्न सुदूरपश्चिमका किशोरीहरुको माग

Submitted by editor on
ईबिगुल संवाददाता
विवाहको उमेर २० वर्ष

धनगढीः सुदूरपश्चिमका किशोर किशोरीहरूले विवाहको उमेर २० वर्ष नै कायम राख्न माग गरेका छन ।

बाजुरा, अछाम र कैलालीका २६० जना किशोर किशोरीहरूले प्रधानमन्त्रीलाई पत्र पठाउँदै सो माग गरेका हुन । कानुन उपसमितिले विवाहको उमेर हद १८ वर्षमा झार्न दिएको सुझावको विरुद्धमा किशोर किशोरीहरूले हुलाक मार्फत प्रधानमन्त्रीलाई पत्र पठाएका छन ।

उनीहरूले शारीरिक, मानसिक र संवेगात्मक परिपक्वता नपुग्दासम्म विवाह दिगो नहुने, सन्तान जन्माउँदा स्वास्थ्य समस्या आउने, यौनजन्य हिंसामा पर्ने सम्भावना बढ्ने, तथा निर्णय क्षमतामा कमी आउने भएकाले २० वर्षको उमेर सीमा नै उचित हुने बताएका छन् । नेपालको संविधान, मुलुकी देवानी संहिता, बालअधिकार सम्बन्धी ऐन तथा विभिन्न अन्तर्राष्ट्रिय महासन्धिहरूले बालविवाह निषेध गर्ने व्यवस्था गरेकाले कानुनी उमेर घटाउनु अनुचित हुने उनीहरूको तर्क छ ।