Skip to main content

लगानी तथा विकास सम्मेलनको सुदूरपश्चिममा तयारी तीव्र

Submitted by editor on
ईबिगुल संवाददाता
सम्मलेन

धनगढीः सुदूरपश्चिम प्रदेश सरकारले आगामी असोज १ र २ गते आयोजना गर्न लागेको लगानी तथा विकास सम्मलेनको पूर्वतयारीलाई तीव्र पारेको छ।

गत फागुन २१ गते सुदूरपश्चिम प्रदेश सरकारको मन्त्रिपरिषद्को निर्णयले आगामी असोज १ र २ गते गर्ने लगानी तथा विकास सम्मलेन धनगढीमा गर्ने निर्णय गरेको थियो। सोही सम्मेलनलाई सफल बनाउन यही चैत २७ गते पूर्वलगानी तयारी सम्मेलन गर्न लागेको छ। 
सोमवार सुदूरपश्चिम प्रदेशका मुख्यमन्त्री तथा लगानी तथा विकास सम्मेलनका निर्देशक समितिका संयोजक कमलबहादुर शाहको अध्यक्षतामा सम्पन्न बैठकमा सरकारमा सहभागी मन्त्रीहरु, राज्यमन्त्रीहरु, पुर्व मुख्यमन्त्री, प्रदेश नीति तथा योजना आयोगका सदस्यसहित मन्त्रालयका सचिवको उपस्थिति रहेको थियो।

आत्मनिर्भर अर्थतन्त्र निर्माणका लागि स्वदेशी तथा विदेशी लगानीलाई आकर्षित गरी लगानीमैत्री वातावरण सिर्जना गर्न आवश्यक नीतिगत, कानुनी र कार्यक्रम व्यवस्था गर्न, नीतिगत, कानुनी र संरचनागत सुधार गरी सार्वजनिक–निजी सहकार्यलाई प्रोत्साहन गरिनेलगायत सम्मेलनको उद्देश्य रहेको बैठकमा मुख्यमन्त्री शाहले जानकारी दिए। 
सुदूरपश्चिम नेपालको एक समृद्ध आर्थिक सम्भावना बोकेको क्षेत्र भएता पनि औद्योगिक पूर्वाधारको अभाव, सीमित लगानी तथा दीर्घकालीन विकास परियोजनाको कमीका कारण यहाँको आर्थिक वृद्धिदर अपेक्षित रुपमा हुन नसकेकाले रोजगारीका अवसर सिर्जना गर्न चुनौती देखिएको उनले बताए। 

मुख्यमन्त्री शाहले भने, प्रदेशको समग्र आर्थिक गतिविधिलाई गति दिनका लागि सुदूरपश्चिम प्रदेश लगानी तथा विकास सम्मेलन आयोजना गर्नु अपरिहार्य छ।ु सम्मेलन सफलता पूर्वक सम्पन्न गर्न मुख्यमन्त्री कमलबहादुर शाहको संयोजकत्वमा मूल आयोजक समिति, पराराष्ट्रमन्त्री डा आरजु राणा देउवाको संयोजकत्वमा सल्लाहकार समिति, मुख्यमन्त्री शाहकै संयोजकत्वमा मूल निर्देशक समिति, पूर्व मुख्यमन्त्री राजेन्द्रसिंह रावलको संयोजकत्वमा समन्वय तथा सहजीकरण समिति, आर्थिक मामिलामन्त्री बहादुरसिंह थापाको संयोजकत्वमा कार्यकारी समिति गठन गरिएको छ।