धनगढी : संविधान दिवसको अवसरमा नेपाली काँग्रेस र एमालेले कैलालीमा संयुक्त शक्ति प्रदर्शन गर्ने भएका छन्। शुक्रबार कैलाली जिल्लामा बसेको दुबै दलको संयुक्त बैठकले विभिन्न कार्यक्रमसहित दुई दिनसम्म संविधान दिवस मनाउने निर्णय गरेको हो। संविधान जारी भएको ११ बर्षमा प्रमुख दुई ठूला दल काँग्रेस र एमालेले कैलालीमा संयुक्त रुपमा पहिलो पटक शक्ति प्रर्दशन गर्ने निर्णयमा पुगेका हुन ।
बैठकले नेपाली जनताको लामो संघर्ष र बलिदानीबाट प्राप्त लोकतान्त्रिक संविधानको रक्षा र मुलुकको वर्तमान राजनीतिक अवस्थालाई मध्यनजर गर्दै ११ औं संविधान दिवसलाई ऐतिहासिक महत्त्वका साथ मनाउने निष्कर्ष निकालेको छ।
कार्यक्रमअनुसार आज चौमाला हुँदै अत्तरिया भएर धनगढी चौराहासम्म मोटरसाइकल र्याली आयोजना गरिनेछ। सोही दिन धनगढी चौराहामा कोणसभा हुनेछ। यस्तै, टीकापुर, जानकी, जोशीपुर, भजनी, बर्दगोरिया, घोडाघोडी र लम्कीचुहासहितका क्षेत्रमा पनि मोटरसाइकल र्याली हुने र अन्त्यमा लम्की बजारमा कोणसभा आयोजना हुने जनाइएको छ।
त्यसैगरी असोज ४ गते जिल्लाका १३ वटै पालिकामा जेनजी आन्दोलनमा सहिद भएकाको सम्झनामा दीप प्रज्वलन कार्यक्रम गर्ने निर्णय भएको दुबै दलले जनाएका छन्।