कैलाली : कैलालीको धनगढी उपमहानगरपालिका–१४ को खुटियाटोलमा रहेको बाल आधारभूत विद्यालयमा शैक्षिक सत्र २०८२ का लागि चार जना मात्र विद्यार्थी भर्ना भएका छन्।
बालविकासदेखि ३ कक्षासम्म पठनपाठन हुने उक्त विद्यालयमा कक्षा १ मा दुई जना र कक्षा ३ मा पनि दुई जना मात्र छात्र भर्ना भएको विद्यालयमा प्रधानाध्यापक रासबहादुर बुढाले बताए।
बाँकी कक्षामा भने विद्यार्थी भर्नादर शून्य रहेको प्रधानाध्यापक बुढाले बताएका छन। गत चैत महिनादेखि शिक्षक आन्दोलनका कारण अब विद्यालय खुल्दैनन् भन्ने गाउँमा हल्ला चलेका कारण विद्यार्थी भर्ना हुन नआएको प्रधानाध्यापक बुढाले बताए। उनले भने, ‘विद्यार्थी भर्ना गर्ने बेला शिक्षक आन्दोलन भयो, लामो समय विद्यालय बन्द भए, सबै विद्यार्थी निजी विद्यालयमा भर्ना हुन गए। अब स्थानीय सरकारले जस्तो निर्णय गर्छ त्यही मान्न तयार छौँ।’
तीन जना शिक्षक र कर्मचारी रहेको सो विद्यालयमा गत शैक्षिक सत्रमा जम्मा १९ जना मात्र विद्यार्थी भर्ना भएका थिए। विद्यालयमा खानेपानी, शौचालय र विद्यालय भवन र खेल्ने चौर पर्याप्त मात्रामा भए पनि विद्यालयमा विद्यार्थी नहुँदा विद्यालय सुनसान भएको छ । विद्यार्थीको सङ्ख्या न्यून रहेको गुनासो आएपछि धनगढी–१४ का वडाध्यक्ष मानबहादुर विष्टले विद्यालयको अनुगमन गरेका छन्। अनुगमनपछि वडाध्यक्ष विष्टले सो विद्यालय समायोजन गर्ने वा अन्य कुनै विकल्प खोज्ने भन्ने विषयमा उपमहानगरपालिकामा छलफल गर्ने बताए।