बाजुराः बडीमालिकाको दर्शन गरेर नाटेश्वरी फर्किने क्रममा त्रिवेणी नगरपालिका–९ पर्ने विष्णुपानी नजिकै शुक्रवार दिउँसो भिरबाट लडेर थप एक तीर्थयात्रीको मृत्यु भएको छ।
मृत्यु हुनेमा बर्दिया जिल्लाको ठाकुरबाबा नगरपालिका–४ का ७५ वर्षीय डिल्लीराज घोडासैनी रहेको जिल्ला प्रहरी कार्यालय बाजुराका प्रहरी नायब उपरीक्षक इकवाल हवारीले जानकारी दिए। उनका अनुसार भिरबाट लडेर घाइते भएका उनको साँझ मृत्यु भएको हो।
सोही ठाउँमा बिहीवार राति पनि काठमाडौँको गोकर्णेश्वर नगरपालिका–५ का ५२ वर्षीय विप्लव ओझाको सात सय मिटर तर खोँचमा खसेर मृत्यु भएको थियो। ओझाको शव निकाल्न जिल्लाबाट तालिमप्राप्त सुरक्षाकर्मीको टोली घटनास्थलमा पठाइएको प्रमुख जिल्ला अधिकारी मेघनाथ पाध्याले बताए।