Skip to main content

झडपपछि कैलाली कारागार कैदीहरुको कब्जामा

Submitted by editor on
शिवराज भट्ट
कारागार कैदीहरुको कब्जामा

धनगढी : कैदीहरुबीच भएको झडपमा एक जनाको  मृत्यु भएपछि कैलाली कारागार कैदीहरुको कब्जामा छ । शुक्रबार मध्यराती झडप भएपनि त्यसपछि कारागारभीत्रको घटनास्थलमा सुरक्षा निकायका पदाधीकारी नै जान सकेका छैनन । 

कैलालीका प्रमुख जिल्ला अधिकारी गोगन बहादुर हमाल, कैलालीका प्रहरी उपरिक्षक बालनसिह राणा र सशस्त्र प्रहरीका एसपी सुरेन्द्रराज रञ्जीत सहितका सुरक्षा अधिकारीहरु कारागारको अवस्था बुझ्न गएका थिए । तर कैदीहरुले उनीहरुलाई कारागारभीत्र पस्न दिएनन ।

‘हामीहरु अहिलेसम्म पनि कारागारभीत्र पस्न सकेका छैनौं । उनीहरु आक्रोसित छन । थप घटना नहोस भनेर नै हामीले भीत्र जान पनि खोजेका छैनौं’ प्रमुख जिल्ला अधिकारी गोगन बहादुर हमालले भने । जिल्ला सुरक्षा समितिको बैठकले अहिले कारागार सुरक्षाका लागि सशस्त्र प्रहरी पनि तैनाथ गरेका छन ।

घटनापछि राष्ट्रिय मानवअधिकार आयोगको टोली पनि कारागारभीत्रको घटनास्थल सम्म पुग्न सकेको छैन । ‘घटना बारे बुझिरहेका छौं । कारागार प्रशासनको कार्यालयसम्म त पुग्न सकिएको छ तर कारागारभीत्र भने जान सकिएको छैन’ राष्ट्रिय मानवअधिकार आयोगका एक अधिकृतले भने ।

कारागारमा शुक्रबार राती सामुहिक झडप भएको थियो । झडपमा धनगढी उपमहानगरपालिका वडा नम्बर ४ का ४० वर्षका भरत चौधरीको मृत्यु भएको छ भने ४९ जना घाईते भएका छन । यसअघि ४७ जना घाईते भनिएकोमा घाइते अवस्थामै कारागारको छतमा लुकेका थप २ जना प्रहरीको टोली पुगेपछि फेला परेका हुन ।

मृतक चौधरीको शव सेती प्रादेशीक अस्पतालको शवगृहमा राखिएको छ । घाईते ४९ जनालाई सेती प्रादेशीक अस्पतालमै उपचार भईरहेको छ । सेती प्रादेशीक अस्पतालका बरिष्ठ फिजिसियन डाक्टर शेर बहादुर कमरले घाईतेहरु मध्ये अधिकांसका हातखुट्टा भाँचिएका छन । उनले झडपमा फलामका रडहरुको बढी प्रयोग भएको बताए ।

‘फलामे रडहरुको बढी प्रयोग भएको छ । घाईतेहरुलाई ठुलो चोट लागेपनि उनीहरु खतरामुक्त छन । एकजनाको सल्यक्रिया भएको छ । एकजनालाई आईसीयुमा भर्ना गरिएको छ’ डाक्टर कमरले भने । सेती प्रादेशीक अस्पतालको ईमरजैन्सीमा उपचारका लागि स्थान नपुेपछि घाईतेहरुलाई नजिकै रहेको कोरोनाका बेला बनाईएको भवनमा सारिएको छ ।