Skip to main content

कैलाली कारागारमा तनाव : कैदीको मृत्युपछि सुरक्षाधीकारी पनि जान सकेनन कारागारभीत्र

Submitted by editor on
शिवराज भट्ट
कारागार

धनगढी : लामो समयदेखि झडप भईरहेको कैलाली कारागार घटनालाई प्रशासनले गम्भीर रुपमा नलिएपछि शुक्रबार राती कारागार परिषर रणभूमी बन्यो । ब्लक ए र ब्लक बी का कैदीहरुबीच झडप हुँदा एकजनाको मृत्यु भयो भने ४७ जना घाईते भएका छन ।

ब्लक ए का कैदीबन्दीहरुको रड आक्रमणबाट लागुपदार्थ सम्बन्धि मुद्धामा जेल सजाय भोगिरहेका धनगढी उपमहानगरपालिका वडा नम्बर ४ का ४० वर्षका भरत चौधरीको मृत्यु भएको हो । गम्भीर घाईते भएका चौधरीको उपचारका क्रममा सेती प्रादेशीक अस्पतालमा मृत्यु भएको हो ।

चौधरीको शव सेती प्रादेशीक अस्पतालको शवगृहमा राखिएको छ । घाईते ४७ जनालाई सेती प्रादेशीक अस्पतालमै उपचार भईरहेको छ । सेती प्रादेशीक अस्पतालका बरिष्ठ फिजिसियन डाक्टर शेर बहादुर कमरले घाईतेहरु मध्ये अधिकांसका हातखुट्टा भाँचिएका छन ।उनले झडपमा फलामका रडहरुको बढी प्रयोग भएको बताए ।

‘फलामे रडहरुको बढी प्रयोग भएको छ । घाईतेहरुलाई ठुलो चोट लागेपनि उनीहरु खतरामुक्त छन । एकजनाको सल्यक्रिया भएको छ । एकजनालाई आईसीयुमा भर्ना गरिएको छ’ डाक्टर कमरले भने । सेती प्रादेशीक अस्पतालको ईमरजैन्सीमा उपचारका लागि स्थान नपुेपछि घाईतेहरुलाई नजिकै रहेको कोरोनाका बेला बनाईएको भवनमा सारिएको छ ।

कारागारभीत्र ब्लक ए र बी को भीत्ता भत्काएर झडप भएको हो । राती १० बजेपछि दुई पक्षबीच झडप भएको कारागारका निमित्त प्रमुख खरिदार राम कुमार चौधरीले बताए ।

कारागार प्रमुख बसन्त खत्री विरामी विदामा रहेका र नासु पनि शुक्रबार देखि विदामा रहेकाले खरिदार चौधरीलाई निमित्त प्रमुखको जिम्मेवारी थियो । चौधरीले आफुलाई राती १२ बजेतिर मात्रै कारागारमा झडप भएको खबर आएको र खबर पाएलगत्तै प्रमुख जिल्ला अधिकारीलाई खबर गरेको बताए ।

चौधरी पनि जेठमा मात्रै कारागारमा सरुवा भएका हुन । ‘मलाई पनि कारागारका बारेमा धेरै जानकारी थिएन’ उनले भने । 
प्रशासनले यसबारेमा आधिकारिक जानकारी गराएको छैन । पत्रकारहरुलाई कारागारमा प्रवेशमा रोक लगाईकाले विस्तृत विवरण भने आउन सकेको छैन । पत्रकारहरुलाई पनि अस्पतालमा घाइतेहरुको फोटो भिडियो खिच्न दिएको छैन । पत्रकारहरुलाई अस्पतालभीत्र जान रोक लगाइएको छ ।

सुरक्षाअधिकारी पनि जान सकेनन कारागारभीत्र
कैलाली कारागारको क्षमता १५० जना हो तर त्यहाँ ७ सय जना कैदीबन्दीहरु राखिएको जेल प्रशासनले जनाएको छ । ७ जना कैदीबन्दीबीच झडपपछि प्रमुख जिल्ला अधिकारी सहितका सुरक्षाअधिकारी पनि कारागारमा जान सकेका छैनन । केही बेर अघि जिल्ला सुरक्षा समितिको बैठक बसेको छ । प्रमुख जिल्ला अधिकारी गोगन बहादुर हमालले सुरक्षाअधिकारीहरु समेतले कारागारभीत्र जान सक्ने अवस्था नरहेको स्वीकार गरे ।

‘कारागारभीत्र जान सकिएको छैन । ठुलो संख्याका कैदीबन्दीहरु छन । उनीहरुमा आक्रोस भएको पाईयो, गृहमन्त्रालय विभागसँग समन्वय गरेर साम्य पार्ने प्रयास भईरहेको छ’ प्रमुख जिल्ला अधिकारी हमालले भने ।