धनगढी : धनगढी उपमहानगरपालिका ४ का महेश चौधरी एका विहानै देखि तनावमा छन । उनी कतिबेला सेती प्रादेशीक अस्पतालमा पुगिरहेका छन भने कतिबेला कैलाली कारागार । उनलाई छोराको अवस्थाका बारेमा केही जानकारी पाईएको छैन ।
‘विहान देखि भौंतारिरहेको छु, न भेट गर्न दिईएको छ, न कुनै जानकारी नै दिएको छ’ सेती प्रादेशीक अस्पतालको ईमरजैन्सीको बाहिरपट्टी भेटिएका उनले भने । ‘लामो समयदेखि कारागारमा झडप भईरहेको थियो, प्रशासनले मतलब गरेन । अहिले ठूलो घटना भयो ।’
उनका छोरा शरद चौधरी लागुपदार्थ सम्बन्धि मुद्धामा कैलाली कारागारमा थिए । शरदलार्ए ५ वर्षको जेल सजाय तोकिएको थियो । उनलाई जेल सजाय भोगेको २ वर्ष भयो । ‘छोरा भेटन जाँदा कारागारभीत्रको अवस्था नराम्रो छ भन्दै थ्यो, दुई समुहबीच झडप भईरहने र त्यसबाट सबैलाई खतरा रहेको भन्थ्यो, कारागार प्रशासनलाई पनि यसबारेमा जानकारी गराईएको थियो तर लापरवाही भएर यस्तो भयो’ महेश चौधरीले भने ।
उनी मात्रै होईन, सेती प्रादेशीक अस्पताल र कैलाली कारागारमा कैदीबन्दीका आफन्तहरुको भीडभाड लागेको छ । धनगढीकै रमेश विनाडीलाई पनि आफ्ना भान्जाका बारेका जानकारी छैन । लागुपदार्थ सम्बन्धि मुद्धामै कारागारमा रहेका उनका भान्जा पनि घाईते छन ।
‘भान्जाको अवस्थाका बारेमा प्रशासन र कारागारले केही पनि जानकारी दिएको छैन । अस्पतालमा पनि जान दिन्न, कारागारमा पनि जान दिन्न’ बिनाडीले भने । उनले कारागारभीत्र लाठी, रड र भाला कताबाट गए भन्ने गम्भिर प्रश्न उब्जिएको बताए ।
‘झडपमा फलामे रड, भालाहरु प्रयोग भएका छन । ती कसरी कारागारभीत्र पुगे ?’ विनाडीले प्रश्न गरे । ‘यसको छानबिन हुनुपर्छ ।’ उनले लामो समयदेखि कारागारमा झडप भईरहे पनि प्रशासनले त्यसलाई सामान्य रुपमा लिएका कारण यस्तो भएको दाबी गरे ।