धनगढी : स्वास्थ्य तथा जनसंख्यामन्त्री प्रदिप पौडेलले गेटामा स्थलगत हेर्दा धेरै जानकारी हुन्छ भनेर हेर्न खोजेको तर, नारावाजी विरोध केका लागि बुझ्न नसकेको धारणा व्यक्त गरेका छन् । बुधबार धनगढीमा नेपाली काँग्रेस कैलालीले आयोजना गरेको कार्यकर्ता भेटघाट कार्यक्रममा उनले यस्तो धारणा व्यक्त गरेका हुन ।
‘रातो कितावमा नै बजेट विनियोजन गरेका कारण विरोधको कुनै अर्थ छैन’, उनले भने । ‘कसैले बिरोध गरेपनि आफू बिचलित नभई गेटालाई छिटो भन्दा छिटो सञ्चालन गर्न लागिपरेको छु ।’ आगामी असारमा गेटा स्थित सहिद दशरथ चन्द स्वास्थ्य विज्ञान विश्वविद्यालयमा एमबिबिएस पढाइ संचालन गरिने उनले दावी गरे । उनले चाँडै ३ सय वेडको अस्पताल संचालन गरि पढाइ सञ्चालन गरिने जिकिर गरे ।
उनले ३ सय बेडको अस्पताल संचालनपछि शिक्षा मन्त्रालयलाई हस्तान्तरण गरिने उल्लेख गरे । मन्त्री पौडेलले गेटामा बनेका भवनहरु शिक्षा मन्त्रालयले स्वास्थ्य मन्त्रालयलाई प्रयोग गर्न नदिएका कारण पनि छिटो संचालनमा समस्या देखिएको गुनासो समेत गरे । सुदूरपश्चिमका जनताले दशकौँ देखि प्रतिक्षा गरेको गेटा मेडिकल कलेजको सपना अझै अधुरो छ । ६ अर्बभन्दा बढी खर्च गरेर विशाल पूर्वाधार तयार पारिएको छ । ऐन बनेर विश्वविद्यालयको कानुनी बाटो खुलेको छ । तर अस्पताल सञ्चालनको कुरा भने अझै विवाद र असमझदारीको घेरामा छ ।
यसैबीच, स्वास्थ्य मन्त्री पौडेलले गेटा अस्पतालमा निर्माण भएको पाँच शय्याको आकस्मिक कक्ष आज उद्घाटन गर्ने तयारी गरेपछि संघर्ष समितिले बिहानैदेखी आन्दोलन सुरु गरेको थियो । संघर्ष समितिको बिरोधपछि मन्त्री पौडेल गेटा नगएर सिधै धनगढी पुगे ।
विश्वविद्यालय स्थापनार्थ संघर्ष समितिका संयोजक लोकराज पाण्डेले मन्त्रीलाई छोटो अवधि भित्रै सुरू भएको आकस्मिक कक्षको उद्घाटन गरेर जनतालाई भ्रमित नगर्न चेतावनी दिएका थिए । ‘विश्वविद्यालयको ऐन भइसकेको छ । अब उपकुलपति, रजिस्ट्रार लगायतका पदाधिकारी नियुक्त गरेर कम्तीमा ३ सय शय्याको अस्पताल सञ्चालन गर्नुपर्छ । तर, ५ शय्याको आकस्मिक कक्ष उद्घाटन गरेर नाटक मञ्चन गर्ने काम स्वीकार्य छैन’, उनले भने ।