कञ्चनपुर : कञ्चनपुरमा निरन्तरको बर्षाले ५७ घर र सशस्त्र प्रहरीका दुई बीओपी डुबानमा परेका छन् । जिल्ला प्रहरी कार्यालय कञ्चनपुरका अनुसार दोधारा चाँदनी नगरपालिकाको वडा–८ स्थित रामपुरे टापु र गर्जा टोलमा जोगबुढा नदीको पानी पस्दा २५ घर डुबानमा परेका हुन् । डुबानमा परेका २५ घरपरिवारका ७० जनालाई नजिकैको जनज्योति माविमा सारिएको छ । त्यसैगरी दोधारा चाँदनी नगरपालिका –३ स्थित पटराखल्लामा जोगबुढा नदीको बाँध भत्किएर बाढी बस्तीमा पस्दा १५ घर डुबानमा परेका हुन् ।
डुबानबाट विस्थापित ५५ जनालाई सर सामान र चौपायासहित जमुना आधारभूत विद्यालय जमुनाघाडीमा राखिएको छ । दोधारा चाँदनीकै वडा–१० स्थित शान्ति टोलका १२ घर डुबानमा परेका छन् । १२ घरपरिवारका ४० जनालाई वडा–९ स्थित अम्बिका माविमा सारिएको छ ।
त्यसैगरी वडा १० स्थित सुन्दरनगरमा रहेको बीओपी जोगबुढा नदीको पानी पस्दा डुबानमा परेको छ । वडा–७ स्थित कञ्जभोजमा रहेको सशस्त्र प्रहरीको बीओपी समेत डुबानमा परेको प्रहरीले जनाएको छ । सुन्दरनगर बीओपीमा कार्यरत २३ जनालाई ओमकार आधारभूत विद्यालयमा राखिएको छ भने कञ्जभोजमा कार्यरत ३० जना सशस्त्र प्रहरीलाई सहरी खोप केन्द्रको भवनमा राखिएको छ । त्यसैगरी बाढीले भीमदत्त नगरपालिका–११ स्थित भुजेलामा पाँच घर डुबानमा परेको प्रहरी जनाएको छ ।
जल तथा मौसम विज्ञान विभागले महाकाली नदीको जलसतह सतर्कता तह पार गरेकाले तटीय क्षेत्रका बासिन्दालाई सतर्कता अपनाउन आग्रह गरेको छ । विभागले सचना जारी गर्दै महाकाली नदीको डडेल्धुरास्थित पारि–गाउँ बाढी मापन केन्द्रमा जलसतह सतर्कता तह (६.८ मि) पार गरेको जनाएको छ ।
आइतबार रातिदेखिको अविरल वर्षाका कारण महाकाली नदीमा पानीको जलसतह निरन्तर बढिरहेको छ । जलस्तर बढेसँगै भारतीय पक्षले शारदा ब्यारेजमा चारपाङ्ग्रे र तीनपाङ्ग्रे सवारीसाधन आवागमन रोक लगाएको जिल्ला प्रहरी कार्यालयका प्रवक्ता प्रहरी नायब उपरीक्षक सागर बोहराले जानकारी दिए ।
उनका अनुसार महाकाली नदीमा पानीको सतह बढेर एक लाख ९५ हजार ४५० क्युसेक पुगेको छ । नदीमा पानीको बहाव एक लाख क्युसेक पुगेपछि भारतीय पक्षले सुरक्षाको कारणा देखाउँदै आवागमनमा रोक लगाउँदै आएको छ ।
बाढीले दोधारा चाँदनी नगरपालिकाका तीन वडामा ५७ घर डुबानमा परेर डेढ सयजना विस्थापित भएका छन्। विस्थापितलाई नजिकैको विद्यालयमा सारिएको छ । डुबान प्रभावित क्षेत्रमा अनुगमन तथा उद्धारमा कञ्चनपुरका प्रमुख जिल्ला अधिकारी लक्ष्मण ढकाल,जिल्ला प्रहरी कार्यालय कञ्चनपुरका प्रमुख खड्क बहादुर खत्रीको कमाण्डमा १५ जनाको प्रहरी टोली खटिएको छ ।